काठमाडाैं : कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ रहेको अध्ययन भइरहेको भ्रमण वर्ष २०२० को सचिवालयले जानकारी दिएको छ । नेपाल र्याफ्टिङ एसोसिएसनसँगको सहकार्यमा अध्ययनका लागि टोली कर्णाली पुगिसकेको बताइएको छ ।
भ्रमण वर्ष २०२० को कार्यक्रम कार्यान्वयन उपसमितिको सदस्य सचिव नन्दिनी लेही थापा र्याफ्टिङ एसोसियसनसँगको सहकार्यमा अध्ययन टोली पठाइएको जानकारी दिइन् ।
विश्वका विभिन्न मुलुकले आफ्नो देशमा संसारकै लामो र्याफ्टिङ रहेको दाबी गर्दै आएका छन् । हाल विश्व रेकर्डमा ब्राजिलमा एक सय २७ किलोमिटर लामो र्याफ्टिङ उल्लेख छ ।
‘पर्यटकलाई आकर्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ’, उनले भनिन् । अध्ययनका लागि यति नै समय लाग्ने भन्ने यकिन नभएको उनले बताइन् ।
नेपाललाई विश्वमा हिमालहरूको देश भनेर चिनिएकाले हिमाल मात्र चढ्नुपर्छ भनेर पनि कतिपय पर्यटकहरू नआएको उनको भनाइ थियो । नेपाल भ्रमण वर्ष सफल पार्नका लागि तथा नेपालकै गौरवको विषय भएकाले यसको अनुसन्धान थालिएको जानकारी दिइन् ।
प्रदेश नम्बर ५, ६, ७ मा संस्कृतिको अध्ययन थालिएको छ । त्यस्तै उनले भ्रमण वर्ष २०२० को झण्डा सगरमाथामा पठाइएको जानकारी दिइन् । सचिवालयले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पर्यटकहरूसँग कसरी व्यवहार गर्ने तालिम सञ्चालन सुरु गरेको जानकारी दिइन् । भ्रमण वर्ष सफल पार्नका विभिन्न क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ ।
नेपाल सरकारले केही समयअघि नेपाल भ्रमण वर्ष, २०२० को पहिलो चरणको कार्यक्रम पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिसकेको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६