काठमाडौं : पछिल्लो समय कृषकहरू बगर खेतीतर्फ आकर्षित भएका छन् । बगर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि विभिन्न ठाउँका किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।
नदीको छेउमा बालुवा थुप्रिएका उपयोगविहीन जग्गा सदुपयोग गर्दै उनीहरूले विभिन्न प्रकारका खेती गरिरहेका छन् । सिजनल हिसाबले बगर खेती हुने भएकाले उनीहरूले छोटै समयमा राम्रो आम्दानी गर्ने गरेका छन् ।
बगर खेतीमा उनीहरूले काँक्रा, फर्सी, लौका, तितेकरेला, तरबुजालगायतका तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । वर्षायाममा नदीले खेतहरू बगाएर ल्याउने भएकाले खेतको मल बालुवामा मिसिने र हिउँदमा बालुवामा खेती गर्न सजिलो हुने उनीहरू बताउँछन् ।

‘गर्दा हुँदो रहेछ त’ भन्ने भनाइलाई सावित गर्दै किसानहरूले बगरलाई हराभरा बनाइरहेका छन् । देशका विभिन्न जिल्ला झापा, सुनसरी, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, लगायतका ठाउँमा बगर खेती गरिँदै आएको छ ।
भूमिहीन मानिसले बर्सेनि गर्दै आएको यो खेती उनीहरूका लागि आत्मनिर्भर बन्ने गतिलो व्यवसाय बन्न पुगेको छ ।
परिश्रम गरे मरुभूमिमा पनि सुन फल्छ भन्ने उदाहरणबाट प्रोत्साहित कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूल नजिकैका बजारमा बिक्री वितरण गर्ने गरेका छन् ।
न्यून आयस्रोत भएका परिवार तथा भूमिहीनहरूले गर्दै आएको यो खेतीमा नेपाल सरकारले पनि सहयोग गरेको छ । नेपाल सरकारले ‘बगर खेती कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५’ जारी गरी उत्कृष्ट कृषक तथा कृषक समूहहरूलाई अनुदान प्रदान गर्दै आएको छ । कृषकहरूले कृषि फार्म, कृषि समूह, कृषि सहकारी नाम दिएर बगर खेती व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
विगतमा कुनै पेसा व्यवसाय नभएका भूमिहीनहरूले पनि कृषि तालिम सिकेर बगर खेती अपनाएका छन् । आफू र परिवार कसरी बाँच्ने र पाल्ने भन्ने चिन्तामा रहेका कतिपय परिवार कृषि तालिम सिकेपश्चात बगर खेतीबाट आत्मनिर्भर बन्न थालेको बताउँछन् ।
नेपालमा केही छैन भनी खाडी मुलुकतर्फ लाग्ने नेपाली युवाका लागि बगर खेती एक सन्देस बनेको छ भने बगरमा काम गर्ने कृषकहरू उदाहरणका पात्र बनेका छन् । रातदिन विदेशी भूमिमा बगाएको पसिना आफ्नै देशमा बगाए व्यक्ति र देशको पनि मुहार फेरिने कुरामा दुई मत छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६