वासिंगटन : अमेरिकी संसदको तल्लो सदनको एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ ।
सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता विलियम बारविरुद्ध अवहेलना अभियोग लगाउने भएको हो ।
समितिमा रहेका २४ जना विपक्षी डेमोक्रेट सांसदको मत प्रस्तावको पक्षमा परेको थियो भने सत्तारूढ रिपब्लिकन पार्टीका १६ जना सांसद विपक्षमा उभिएका थिए ।
महान्यायाधिवक्ताले सो प्रतिवेदनको सम्पादन नगरिएको पूर्ण पाठ दिन अस्वीकार गरेका थिए ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि कार्यकारी अधिकार प्रयोग गरेर प्रतिवेदनको पूर्ण पाठ प्रकाशनमा रोक लगाएका थिए । यो विषयलाई लिएर ह्वाइट हाउस र कंग्रेसले एकअर्कामाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
अब अवहेलनाको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको पूर्ण बैठकमा पठाइनेछ । समितिका अध्यक्ष डेमोक्रेटिक पार्टीका जेर्रोल्ड नाड्लरले देश संवैधानिक संकटमा परेको बताए । अमेरिकी संसदको तल्लो सदनमा विपक्षी दलको बहुमत छ ।
आंशिक रूपमा प्रकाशित प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रभावित तुल्याउन ट्रम्पको निर्वाचन अभियान र रुसबीच आपराधिक षड्यन्त्र रहेको कुनै प्रमाण फेला परेको उल्लेख छैन ।
तर रोबर्ट म्युलरले प्रतिवेदनमा राष्ट्रपतिले अनुसन्धानमा अवरोध खडा गर्न गरेका सम्भावित प्रयासका दशवटा उदाहरणहरू प्रस्तुत गरेका छन् । त्यसको पूर्ण विवरण आफूहरूले हेर्न चाहेको डेमोक्रेटहरुको माग छ ।
न्यायिक समितिका अध्यक्ष नाड्लरले मतदान गम्भीर र महत्वपूर्ण कदम भएको बताएका छन् । उनले भने, ‘संसद्लाई प्रतिवेदन उपलब्ध नगराउने ट्रम्प प्रशासनको कदम हाम्रो प्रजातन्त्रको आत्मामाथिको एउटा आक्रमण हो ।’
न्यायिक समितिले प्रतिवेदन तयार गरेका रोबर्ट म्युलरलाई बयानको निम्ति बोलाइसकेको छ । उनी अझै पनि न्याय विभागका कर्मचारी छन् । त्यसकारण उनलाई महान्यायाधिवक्ताले रोक्न सक्छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६