इलाम : इलाममा कराँते खेल सुरु भएको ३० वर्ष बढी भए पनि कवर्ड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कवर्ड हल अभावमा एक हजार २०० बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ ।
पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ । सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा कराँतेसँगै बक्सिङ, उसु, टेबल टेनिस, जुडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । जिल्लामा विद्यालय, डोजो र क्लबमा आबद्ध एक हजार २०० बढी कराँते खेलाडी छन् ।
राष्ट्रिय खेलकूद परिषद्बाट खटाइएका चार स्वयंसेवक र १६ प्रशिक्षकले खुला चौरमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधासम्पन्न कवर्ड हलको माग गरिरहे पनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदीप सैँजुले बताए ।
२०४४ सालबाट राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा यहाँ कराँते खेल सुरु भएको थियो । ३० वर्षको अवधिमा यहाँ उत्पादन भएका खेलाडीमध्ये ५० ले राष्ट्रिय र ३० ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गरेर पदक जितेका छन् ।१०० बढी स्थानीयस्तरीय, २८ जिल्लास्तरीय तथा क्षेत्रीय र सात अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमै सम्पन्न भएका थिए ।
यस वर्ष सम्पन्न नेपाल, भारत, भूटान, बङ्गलादेश र दुबईका गरी ४५० खेलाडी सहभागी सातौँँ अन्तर्राष्ट्रिय प्रतियोगिता चौरमै गर्नुपरेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बताए । खेलाडी र प्रशिक्षकको पहलमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सातौँ चरणको खेल पूरा गरिसकेका छौँ , चाम्लिङले भने, हामीले राम्रो कवर्ड हल निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म माग राखे पनि पूरा भएको छैन ।
उनले सातौँ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा विदेशी खेलाडीले पनि पानीमा भिज्दै खेल्नुपरेको, टिम कोच र प्रशिक्षक पनि खुला आकाशमा भिज्दै बस्दा नराम्रो लागेको बताए । खेलाडीको क्षमता प्रदर्शनका लागि कराँते खेलका प्रशिक्षक र खेलाडीको सक्रियतालाई साथ दिँदै सरकारले चाँडो सुविधासम्पन्न कर्वड हल बनाउनुपर्ने उनको भनाइ छ ।
सरकारले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुदका कार्यक्रम ल्याए पनि ती कार्यक्रमले कराँते खेलमा कुनै सुधार नभएको कराँते खेलाडी विमोचना गुरुङले बताइन् । हामीले खेल्दामा पनि खुला चौरमा खेल्नुपर्छ , गुरुङले भनिन्, खेलाडीलाई प्रशिक्षण दिँदा पनि विद्यालयका चौर, चियाबारीको खुला क्षेत्र रोज्नुपर्ने बाध्यता छ ।
स्थानीयस्तरका प्रतियोगिता मात्रै नभएर हरेक वर्ष आयोजना गरिँदै आइएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि विदेशी खेलाडीसँग पानीमा भिज्दै खेल्नुपर्दा नराम्रो लागेको उनको भनाइ थियो । कराँतेमा स्थानीयस्तरका युवायुवतीको आकर्षण बढे पनि पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले पनि चासो नदिएको खेलाडी तथा प्रशिक्षकको गुनासो थियो ।
हालै सम्पन्न सातौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहयोग पुर्याएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कराँते खेलाडीको माग सम्बोधनका लागि पूर्वाधार निर्माणका लागि पहल गरिने बताए । सो खेलका लागि उक्त नगरपालिकामा जग्गा अभावले पूर्वाधार निर्माणको काम अड्किएको उनको भनाइ थियो ।