काठमाडौं : नेपाल युवा संस्था सञ्जाल आयोनले राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरकारसंग माग गरेको छ । रणनीतिक योजना बनाइ युवा नीति कार्यान्वयनका लागि आयोनले माग गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै युवा संस्थाहरुको छाता संस्थाका रुपमा रहेको आयोनले युवाका क्षेत्रमा बजेट बढाउन समेत माग गरेको छ । “चालु आर्थिक वर्षमा युवाका लागि छुट्याइएको बजेट एक प्रतिशत पनि छैन” आयोनका अध्यक्ष जगदीश ऐरले भने “४० प्रतिशत जनसंख्या भएको युवा क्षेत्रलाई उपेक्षा गरेसम्बृद्धि नहुने ठहरसहित हामीले बजेट बृद्धिको माग गरेका हौ । आगामी बजेटको कम्तिमा १० प्रतिशत युवा क्षेत्रका लागि छुट्याउन ज्ञापनपत्र मार्फत् आग्रह गरेका छौं ।’
सामाजिक उद्यमशीलतामा युवा सहभागीता बढाउन आगामी बजेटमा हौसलापूर्ण कार्यक्रम ल्याउन पनि आयोनले माग गरेको छ । युवाहरुको अनुभव आदानप्रदान गर्न बिभिन्न देशहरुमा नेपालका तर्फबाट हुने भ्रमण रोकिएकोप्रति पनि आयोनले आपत्ती जनाएको छ ।
राष्ट्रिय युवा परिषद् ऐन संशोधन मस्यौदा मन्त्रालयमा अड्किएकोमा मन्त्रीको ध्यानाकर्षण गर्दै आयोनले तत्काल प्रक्रियामा लैजान आग्रह समेत गरेको छ । यसैगरी दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि आवश्यक निर्देशिका तयार गरी संघीय स्वरुप अनुरुप स्थानीयकरण गर्न बिज्ञप्तीमा माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री विश्वकर्माले आयोनले उठाएका विषयलाई आफ्नो मन्त्रालयले गम्भीर रुपमा लिने बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६