लाहोर : पाकिस्तानको लाहोरमा रहेका सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर बुधवार बिहान भएको विस्फोटको जिम्मा तालिबानबाट अलग भएको हिजबुल अहररले लिएको छ ।
सो आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् । पाकिस्तानको पन्जाब प्रान्तका प्रहरीका अनुसार प्रसिद्ध दाता सुफी दरगाहनजिकै प्रहरीको एउटा गाडीलाई तारो बनाएर सो आत्मघाती आक्रमण गरिएको थियो ।
मृत्यु हुनेमा पाँच सुरक्षाकर्मी र ३ जना सर्वसाधारण रहेका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो सांघातिक आक्रमण भएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६