पाल्पा: पाल्पाको माथागढी गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । बाख्रापालन व्यवसाय गरेर आयआर्जन बढाउन गाउँपालिकाको आव २०७५/७६ को नौ लाख बजेटबाट वडा नं ७ रहबासका कृषकलाई बाख्रा वितरण गरिएको हो ।
गाउँपालिकाले ८० बोयर र जमुनापारी जातको बोका र माउ वितरण गरेको जनाएको छ । साथै खोर सुधार सामग्री, औषधि र विभिन्न सामग्रीसमेत प्रदान गरिएको छ ।
धनुवा कृषक समूहमा आबद्ध कृषकलाई आयआर्जन बढाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेपछि कृषकमा उत्साह बढेको छ । परम्परागत तरिकाले स्थानीय जातका बाख्रापालन व्यवसाय गर्दा मेहेनतअनुसार कृषकले आर्थिक लाभ लिन नसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताए, उन्नत जातका बाख्रा वितरणसँगसँगै आधुनिक तरिकाले बाख्रापालन प्रविधिसम्बन्धी तालीम, जुका माटेको औषधि, विभिन्न सामग्री वितरण गरिरहेका छौं ।
ग्रामीण क्षेत्र रहेकाले घाँसपात र चरनको पर्याप्त सुविधा हुँदा आधुनिक तरिकाले बाख्रापालन व्यवसाय गरेर कृषकले आर्थिक लाभ लिन सकुन् भनेर बाख्रा वितरण गरिएको थापा बताए । गाउँपालिका–७ का अध्यक्ष जङ्गबहादुर थापाले भौगोलिक क्षेत्र, हावापानीले यो क्षेत्र बाख्रापालनका लागि उपयुक्त रहेकाले व्यावसायिक तवरबाट बाख्रा पाल्न आग्रह गरे।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६