इन्डियन प्रिमियर लिगको क्वालिफायरमा दिल्ली क्यापिटल्स स्थान बनाएकाे छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो । अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो। दिल्लीलाई अन्तिम ओभरमा जितको लागि ५ रन चाहिएको थियो । पाँचौ बलमा किमो पलले चौका प्रहार गर्दै दिल्लीको जित पक्का गरे ।
दिल्लीको जितमा नायक बनेका विकेटकीपर ऋषभ पन्तले विश्फोटक ब्याटिङ गर्दै २१ बलमा ४९ रनमा क्याच आउट भए । पन्तलाई १९ अौं ओभरको पाँचौ बलमा भुवनेश्वर कुमारले मोहम्मद नाबी बाट क्याच आउट गराए ।
त्यस्तै ओपनर पृथ्वी शा ले ५६ रनको योगदान दिए । ११ ओभरको अन्तिम बलमा खलिल अहमदले विजय शंकरबाट क्याच गराउनु अघि शा ले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि ७.३ ओभरमा धवन र शा ले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिपक हुड्डाले विकेटकीपर रिद्धीमान शाहबाट धवनलाई १७ रनमा स्टम्पिङ गर्दै हैदरावादलाई पहिलो सफलता दिलाए । ११ ओभरको दोस्रो बलमा खलिल अहमदले विकेटकीपर शाहबाट कप्तान श्रेयस ऐरलाई ८ रनमा आउट गरे ।
यसै ओभरको अन्तिम बलमा खलिलले विजय शंकरबाट पृथ्वी शालाई क्याच आउट गराएपछि हैदरावाद खेलमा फर्किने संकेत देखाएको थियो । १५ औं ओभरको पहिलो बलमा कोलिन मुनरो र चौथो बलमा अक्षर पटेललाई राशिद खानले आउट गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । किमो पल ५ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान,भुवनेश्वर कुमार र खलिल अहमदले समान २ तथा दिपक हुड्डाले १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।
उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ३६ सर्वाधिक रनको योगदान दिए । कप्तान केन विलियम्सनले २७ बलमा २८ रन बटुले ।
मनिष पान्डेले ३६ बलमा ३०, रिद्धीमान शाह ८ रनमा आउट भए । तल्लो कमका विजय शंकरले ११ बलमा २५ रनको योगदान दिदै हैदरावादलाई प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए । मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।
चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुकेको हो । दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।
योजितसँगै दिल्लीले अव फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६