काठमाडौं : नेपाल भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा पर्यटन लगानी सम्मेलन हुने भएको छ । भ्रमण वर्ष सफल पार्नका लागि नेपालमा थुपै पर्यटकीय सम्भावना रहेको जानकारी गराउन पर्यटन लगानी सम्मेलनको आयोजना गर्न लागिएको नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले जनाएको छ ।
नेपाल हिमालहरूको देश भनेर मात्र परिचित हुँदा पर्यटकको संख्या बढाउन नसकिएकाले जल पर्यटन, सांस्कृतिक पर्यटन, खेल पर्यटनलगायत धेरै सम्भावना रहेको जानकारी दिनका लागि सम्मेलनको तयारी भइरहेको जनाइएको छ ।
नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य सचिव नन्दिनी लेही थापा भन्छिन्, ‘नेपाललाई बढीजसो साहसिक पर्यटन क्षेत्रको रूपमा लिने गरिन्छ । धेरैजसो उच्च हिमाली शृङ्खला भएकाले पनि विदेशी पर्यटकहरूले साहसिक पर्यटन क्षेत्रको रूपमा लिने गर्छन् ।’ त्यसबाहेक नेपालका पोखरा, लुम्बिनी, चितवन आदि स्थहलहरू पर्यटकीय क्षेत्रका रूपमा परिचित रहेका तर प्राकृतिक छटाहरूले भरिपूर्ण हाम्रो देशमा थुप्रै स्थानहरू पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्ने उनको भनाइ छ । ‘त्यस्ता स्थानहरू अझै पहिल्याउन सकेका छैनौँ’, उनले भनिन् ।
पर्यटन मन्त्रालयले केहीअघि मात्र घुम्नलायक १०० स्थान सार्वजनिक गरेको थियो । नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले अझै पर्यटक भित्र्याउनका लागि सातै प्रदेशमा पर्यटकीय सम्भावना बोकेका स्थलहरू पहिल्याउने काम गर्न लागिएको समेत उनले जानकारी दिइन् ।
भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउन र थुप्रै पर्यटकीय स्थलबारे जानकारी गराउन नोभेम्बरमा पर्यटक लगानी सम्मेलनको आयोजन गर्ने तयारी भइरहेको उनले बताइन् ।
नेपाल सरकारले केही समयअघि नेपाल भ्रमण वर्ष, २०२० को पहिलो चरणको कार्यक्रम पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिसकेको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६