काठमाडौं : काठमाडौं महानगरपालिका– १६ बालाजुका रमेशकुमार शर्माको दैनिकी माछापोखरी तरकारी बजार, रानीबारी तरकारी बजारतिर नै बित्ने गर्छ । विभिन्न बजारकाे भुस र तरकारी बजारको खेर जान लागेकाे तरकारी किन्नु र सामाखुसी, रानीबारी, नेपालटार, बालाजु, नयाँ बसपार्क क्षेत्रका होटलहरूबाट निस्किएको ‘चारो’ संकलन गर्नु नैै उनको दिनचर्या भएको छ ।
उनी त्यस क्षेत्रबाट संकलित चारो स्कुटरमा हालेर उनको बालाजुमा रहेको घरमा लैजान्छन् । विभिन्न स्थानमा रहेका मिलबाट भुस पनि खरिद गर्छन् उनी । त्यति मात्र नभई स्कुटरमा पशुका लागि आवश्यक बेटाडिन, नोवाजिन, स्प्रे, सर्जिकल क्रिमलगायतका औषधिसमेत बोकेर महाराजगञ्जबाट बालाजु जाने उनको दैनिकी नै बनेको छ ।
उनी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका क्षेत्रीय प्रबन्धक हुन् । उनले तीन वर्षदेखि त्यस क्षेत्रमा भेटिएका भुस्याहा कुकुर र छाडा चौपायाको स्याहार गर्दै आएका छन् । उनको घरमा अहिले पनि चारवटा भुस्याहा कुकुर छन् भने अन्य बाटोमा भेटेका सबै कुकुर र गाई–गोरुले समेत चिनिसकेका छन् ।
शर्मा त्यस क्षेत्रका भुस्याहा कुकुर र गाई–गोरु स्याहार्नमा बिहान बेलुका व्यस्त हुन्छन् भने उनका श्रीमती तथा निहारिका शिशुकुञ्ज माविका प्रधानाध्यापक शोभा आचार्यले स्याहारमा सघाउँछन् ।
उनले नियमित स्याहार गर्नुका साथै खुवाउने व्यवस्था गर्न थालेपछि उनको घरछेउमा खान आउने गाई–गोरु र कुकुरको रुटिन नै बनेको छ । बिहानै कार्यालय जानुपूर्व र बेलुका कार्यालयबाट फर्किनेवित्तिकै उनको घर वरपर कुकुर र गाई जम्मा हुन्छन् । शर्माले जब आफूसँग भएको चारो खुवाउँछन् अनि सबै आआफ्नो बाटो लाग्छन् ।
उनले नियमित खुवाउने मात्र नभई आवश्यकताअनुसार पशु चौपायाको उपचार पनि गर्दै आएका छन् । उनले उपचारका लागि पशु प्राविधिक प्रवेश लुइँटेललाई खटाउने गरेका छन् । अहिलेसम्म दुईवटा गाईको सर्जरी पनि गरेको बताए । एउटा गाईको खुर फेरेको र एउटाको बन्द भएको पिसाब नलीको सर्जरी गरेको उनले बताए ।
उनको बालाजुमा घर छ । श्रीमान्–श्रीमती नै जागिरमा व्यस्त छन् । उनकी एक मात्र छोरी अमेरिकामा रहेकी हुँदा घरको खर्च कम हुने भएकाले पशुको स्याहारमा लागेको बताए । ‘आफ्नो इच्छाअनुसारको काम गरिन्छ । म पशुलाई माया गर्छु, त्यही भएर सधैँ स्याहार्छु , उनले भने, मसँग सधैँ उपचार गर्ने औषधि र एक बोरा भुस अनिवार्य राख्छु ।’
उनको घरमा मद्यपान, धुमपान तथा मासु नपाक्ने भएको हुँदा पनि फजुल खर्च नहुने भएकाले उक्त खर्चसमेत पशु स्याहारमै सदुपयोग गर्ने गरिएको उनले बताए ।
उनले स्याहार गर्ने पशुको टुङ्गो नै नहुने बताए । दैनिक दर्जनको हाराहारीमा पशुको स्याहारमा व्यस्त हुने गरेको उनको भनाइ छ । यस्तो सोच कसरी आयो ? भन्ने प्रश्नमा आफूसँग कोही नभएको बेला मन भुलाउनका लागि आफ्नो आसपासका भुस्याहा कुकुरको स्याहार गर्ने गरेको र अफिसपछि फुर्सदिलो काम यही भएको उनले बताए ।
उनले घाइते र बिरामी पशुप्रति गरिने अरूको व्यवहार देखेर आफू दुखी भएको सुनाए । छाडा गाई जब दुहुने बेला हुन्छ, तब घरमा लगेर बाँधेर दुहुने गरेका स्थानीयले त्यही गाईले दूध दिन छाड्नेवित्तिकै सडकमा ल्याएर छाड्ने गरेको बताए । त्यति मात्र नभई रातीको समयमा धेरै पशु हराउने गरेको उनको भनाइ छ ।
त्यस्तै, मानवीय व्यवहारले पनि पशुहरूको माया लाग्न थालेर एक–दुईवटा स्याहार्दा स्याहार्दै धेरैवटालाई खुवाउँदै र उपचार गर्दै आएको उनले बताए । उनको घरमा घरको परिवारबाहेक अन्यलाई कोठा भाडामा नदिएकाले पनि खाली कोठामा भुस्याहा कुकुर राख्ने गरेको उनले बताए ।
उनको दैनिकी बिहानै खाना नखाई निस्किने, बाटोमा भेटेका सबै कुकुरलाई बिस्कुट र पाउरोटी दिने तथा गाईलाई भुस तथा चारो दिई अफिस आएर र ड्युटीको काम गरेर बित्छ भने बेलुका चारो संकलन गरेर घरमा गएर रुटिनमा आएका कुकुर र गाईलाई स्याहार गर्नमै बित्ने गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६