हुम्ला : दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ ।\
उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानबहादुर रोकायाले जानकारी दिए । आगोमा खसेका बालकलाई आफन्तले उपचारका लागि सदरमुकाम सिमकोट ल्याएका हुन् ।
तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्तलाई उद्धृत गर्दै भारमल बुढाले बताए ।खाना पकाउन बालिएको आगो नजिकै बालकलाई सुताएको र एक्कासि बालक उठेपछि आगोमा परेर दुबै खुट्टा पोलिएको छ । घाइते बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।