काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीको पथ अहिले पूर्वराजा ज्ञानेन्द्र शाह पथमा बदलिएको आरोप लगाएका छन् । कांग्रेसको आजबाट शुरु भएको जागरण अभियानअन्तर्गत राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले ओलीपथ ज्ञानेन्द्रपथमा परिणत भएको छ ।’
हिजो संसदमा प्रधानमन्त्री ओलीसँग रस्साकस्सी गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक खाँण प्रधानमन्त्री ओलीविरुद्ध निक्कै कडा रुपमा खनिए । उनलेसंसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा उल्लंघन गरेको आरोप पनि लगाए । नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेकोप्रति पनि प्रमुख सचेतक खाँणको आपत्ती थियो । ‘राष्ट्रपतिजीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्नुभयो । मेरो सरकार शब्दको कुरा होइन । भाषाको कुरा होइन । यो भावनाको कुरा हो । संविधानको कुरा हो । संविधानले कार्यकारीणनी अधिकार नेपाल सरकारलाई प्रदान गरेको छ,’ खाँणले भने, ‘जब संविधानले नेपाल सरकार भन्छ भने राष्ट्रपतिलाई मेरो सरकार भन्ने छुट छैन । ओलीले मेरो सरकार भनेर लेख्ने छुट छैन ।’ श्री ५ को सरकारलाई नेपाल सरकार बनाउन देशभरि कांग्रेस नेता,कार्यकर्ताले बलिदान गरेको स्मरण गर्दै उनले कसैको लहडमा मेरो सरकार भन्नु जनताको भावना र शहिदको अपमान भएको बताए ।
उनले प्रधानमन्त्री ओलीले संविधान मिच्दै ज्ञानेन्द्रपथमा लागेको आरोप पटक पटक लगाए । आफुहरुले संसदमा जनताको आवाज मुखरित मात्र गरेको बताउँदै उनले जनताको आवाज संसदमा मुखरित गर्नका लागि आफुहरु बलिदान गर्न परेपनि तयार रहेको खाँणले बताए । ‘मदन भण्डारीको हत्या भयो भनेर काठमाडौंमा ताण्डब मच्चाउनुभयो । मदन भण्डारीको हितैषी तपाईं प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीकै सबैभन्दा हितैसी अहिले मेरो सरकार हुनुहुन्छ । मेरो सरकार र तपाईंको पालामा मदन भण्डारीको हत्यारा खोज्नुहुन्छ कि हुन्न ? कहिले खोज्नुहुन्छ,’ खाँणको प्रश्न थियो ।
अधिकांश समय प्रधानमन्त्री र राष्ट्रपतिको आलोचनामा खर्चिएका खाँणले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको भन्दै कार्यकर्ताहरुलाई मनै देखि एकतावद्ध भएर लाग्न पनि आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६