बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गरेर बस्दैनन्, नजिकै रहेको वडा
कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत भ्याउने गरेका छन् ।
उनको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो । तर गाउँपालिकाको कार्यालयले उनलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ । वडासचिव नभएका कारण उनलाई कार्यालयको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।
गुप्ताजस्तै बडिगाडकै वडा नम्बर १ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत यानबहादुर श्रेष्ठलाई पनि वडा कार्यालयको समेत जिम्मेवारी दिइएको छ । स्वास्थ्यचौकी र वडामा आउने सेवाग्राहीको काम उनीहरूले पालैपालो गर्ने गरेका छन् ।
निसीखोला गाउँपालिकाको वडा नम्बर ६ मा अहेव जुनी घर्तीले स्वास्थयचौकी र वडा कार्यालयको काम धानिरहेकी छिन् भने निसीखोला–४ मा अहेव ताराकुमारी चन्दलाई खटाइएको छ । कार्यालयको कामकारबाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उनीहरूलाई थप जिम्मेवारी दिएर काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।
निसीखोला गाउँपालिकाको प्राविधिक काम गर्नका लागि नियुक्त भएका सहायक कम्प्युटर अपरेटर प्रकाशसिंह धामीलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ । उनले वडा नं २ को कार्यालयको काम पनि गर्दै आएका छन् ।
गल्कोट नगरपालिकामा पनि दुई वडा अहेवलाई नै जिम्मा लगाइएको छ । ११ वडा रहेको गलकोटमा पाँच वडा सचिवले नौ वडा हेर्ने गरेका छन् भने बाँकी दुई वडामा स्थानीय स्वास्थ्यचौकीका अहेवलाई थप जिम्मेवारी दिएर काममा लगाइएको हो ।
गल्कोट नगरपालिका–२ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका–११ मा दिबहादुर श्रीषले स्वास्थ्यचौकीसँगै वडा कार्यालयको कामसमेत गर्दै आएका छन् ।
समायोजनसँगै वडामा कार्यरत कर्मचारी हिँडेपछि बागलुङका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका वडा कार्यालयमा काम गर्ने कर्मचारीको अभाव भएको हो । सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा सात मात्रै वडा सचिव कार्यरत छन् ।
१४ वडा रहेको नगरपालिकाका बाँकी सात वडा सचिवविहीन छन् । ‘केन्द्र तथा प्रदेश र अन्य स्थानीय तहमा समायोजन भएका कर्मचारी हिँडे’, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘रहेका केही वडाका सचिवसमेत हिँड्ने तरखरमा हुनुहुन्छ, नयाँ कोही आएका छैनन् ।’
पाँच वडा रहेको बरेङ गाउँपालिकामा एक मात्रै वडा सचिव कार्यरत हछन् । उनकै भरमा सबै वडामा पञ्जीकरण दर्ता, चलानी लगायतका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए ।
नौ वडा रहेको ढोरपाटन नगरपालिकामा दुई मात्रै सचिव छन् । कर्मचारीको अभावका कारण एकलाई चार वडा र अर्का एकलाई पाँच वडाको जिम्मेवारी दिइएको छ । ‘वडाध्यक्षले सघाउनुभएको छ, सचिवले नै गर्नुपर्ने कामको जिम्मेवारी दुई जनालाई दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने, ‘कर्मचारी अभावमा वडा कार्यालय कतै वडाध्यक्षको भरमा छन् भने कतै कार्यालय सहयोगीले काम चलाउनुभएको छ ।’
छ वडा रहेको तमानखोला गाउँपालिकामा दुई, सात वडा रहेको निसीखोला गाउँपालिकामा दुई, १० वडा रहेको बडिगाड गाउँपालिकामा तीन सचिवले काम गर्दै आएका छन् । आठ वडा रहेको काठेखोला गाउँपालिकामा पनि एकमात्रै वडा सचिव कार्यरत छन् । प्रायः सबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो । सचिव नभएका वडामा कतै गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर त कतै स्वास्थ्य शाखामा काम गर्नेलाई जिम्मेवारी दिइएको छ । –रासस
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६