लहान : सिरहाको लहानस्थित एउटा अस्पतालमा नवजात शिशुलाई छोडेर बाबुआमा नै गायब भएका छन् ।
लहानस्थित लीला मदन प्रसूति पोलिक्लिनिकमा सम्झना राईले बच्चा छाडेर गायब भएकी हुन् । उनीसँग आएका ३२ वर्षीय पुरूष विकास राईले आफूलाई सम्झनाको श्रीमान् र घर उदयपुरको कटारी हो भनेर बताएका थिए ।
गत वैशाख १० गते भर्ना भएकी राईले ११ गते बिहान छोरीलाई जन्म दिएकी थिइन् । बिहान एटीएमबाट पैसा निकालेर लिएर आउँछु भनेर विकास बाहिर निस्के । केही बेरपछि छोरीलाई एक्लै छाडेर आमा पनि गायब भइन् ।
दुई हप्ता पुग्न लाग्दासमेत बाबुआमा बच्चा लिन नआएपछि बेवारिसे शिशुको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ ।
यो खबर सुनेपछि समाजसेवी युवा सरोज राय बच्चालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर उक्त अस्पताल पुगेका थिए । रायका अनुसार सकेसम्म बच्चाकै बाबुआमा पत्ता लगाएर बुझाउने कोसिस गरिने नभए शिशुलाई आश्रय दिने संस्थालाई आग्रह गरिने बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६