भोजपुर : राम्रो कमाइ हुन्छ भनेर विदेश गएका पूर्वी पहाडी जिल्ला भोजपुरका युवा वैदेशिक रोजगारीबाट फर्केर कृषि पेसामा आबद्ध हुन थालेका छन् ।
विदेशमा कडा मेहनत गर्दा पनि आम्दानी गर्न समस्या हुने धारणा युवाहरूको छ । उनीहरु भन्छन्, ‘विदेश भनेर के गर्नु ? तातो घाममा मरीमरी काम गर्यो, भनेजस्तो कमाइ पनि गर्न सकिँदैन, बरु त्योभन्दा त आफ्नै ठाउँमा खेतीकिसानी गर्ने हो ।’
वैदेशिक रोजगारीमा कतार गएका भोजपुर नगरपालिका–७ का जितकुमार राई अहिले कृषि पेसामा आबद्ध भएका छन् । व्यावसायिक तरकारी खेतीमा लागेका राईले निकै मेहनत पनि गरिरहेका छन् ।
वैदेशिक रोजगारीका लागि साढे पाँच वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्र बनेका छन् । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेको बताए ।
राई भन्छन्, ‘कतारको तातो घाम करिब ६ वर्ष बिताएँ, तर खासै कमाउन सकिनँ । अहिले यही तरकारी खेतीमा लागेर वार्षिक छदेखि सात लाखसम्म आम्दानी गरिहेको छु ।’
राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनले सिजनअनुसार काउली, बन्दा, टमाटर, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेको बताए ।
तर बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्रीवितरणमा केही समस्या हुने गरेको उनको गुनासो छ । उनले भने, ‘बजारको राम्रो व्यवस्था नहुँदा भने निकै समस्या छ ।’ हार स्थानीय बजारको माग करिब दुई सय किलो रहेकोमा त्यसभन्दा बढी उत्पादन हुँदा बिक्रीवितरणमा समस्या भएको बताउँदै उनले भने, ‘बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।’
जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारीमा गएर आएपछि धेरै युवाले यस्ताखाले पेसा अपनाएका छन् । उनीहरूले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरूको लगाव देखिएको छ । यस्तो पेसामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू नै छन् । उनीहरू यसैबाट राम्रो आम्दानीसँगै अन्य मानिसका लागि समेत उदाहरण बन्दै गएका छन् ।
भोजपुरमा उत्पादन भएका सागसब्जी सदरमुकाममा लाग्ने बुधबारे र शनिबारे हटियामा बिक्री हुने गरेको छ । मेहनत गर्न सकेमा पैसा कमाउनका लागि विदेश नै जानु नपर्ने बताउँछन् भोजपुरका स्थानिय कृषक कृष्ण प्रधान ।
भोजपुरमा कृषि पेसा गरेर राम्रो सफलता पाएका धैरै कृषकहरू भएकाले जिल्लामा कृषि पेसालाई अँगाल्दा राम्रो हुने अर्का कृषक विष्णु तामाङको बुझाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६