काठमाडौं : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीइल) को फाइनलमा पुगेको छ ।
मंगलबारराति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई उसकै मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
चेन्नईले पहिले ब्याटिङ गर्दै मुम्बईलाई जितका लागि १ सय ३२ रनको मध्यम लक्ष्य दिएको थियो । मुम्बईले सो लक्ष्य १८ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टयो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले उत्कृष्ठ पारी खेले । उनले ५४ बलमा १० चौकासहित ७१ रनमा अविजित रहे भने इसन किसानले २८ रनको योगदान दिए ।
पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई गुमाएको मुम्बईले २१ रन हुँदा दोस्रो विकेटको रुपमा क्लिन्टन डी ककलाई गुमाएपछि दबाबमा आएको थियो ।
तर सुर्यकुमार र किसानले मुम्बईको पारी सम्हाले । बलिङतर्फ इमरान ताहिरले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । चेन्नाईका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।
पाँचौ नम्बरमा आएका अम्बती रायडु र छैटौं नम्बरमा आएका कप्तान महेन्द्रसिंह धोनीले पारी सम्हालेका थिए । अम्बाती रायडु ४२ रन र कप्तान धोनी ३७ रनमा अविजित रहे । बलिङतर्फ राहुल चाहरले दुई विकेट लिए ।
मुम्बईसँगको हारपछि पनि चेन्नईको फाइनल पुग्ने सम्भावना जिवित छ । उसले अब दोस्रो क्वालिफायर राउण्डमा फाइनल प्रवेशका लागि इलिमिनेटर राउण्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६