काठमाडाैं : महानगरीय प्रहरीवृत्त जगाती चेकपोष्टले जगातीबाट रक्तचन्दन र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुरक्षा जाँचका क्रममा सूर्यविनायक नगरपालिका– ८ जगातीमा उदयपुर बेलटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख २३०० नम्बरकाे माइक्रोबसकाे छतमा बोरामा राखेर ल्याउँदै गरेको ५६ टुक्रा रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर बेलटारका १९ वर्षीय मोहन नेपाली छन् । पक्राउपछि उनीहरुलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यसैगरी प्रहरीले जगाती चेकप्वाइन्टमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ४१ प ३१५५ नम्बरकाे मोटरसाइकलमा जाँच गर्दा झोलामा बोकेर ल्याइएको लागुऔषधसहित धनकुटा महाभारत गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा बस्ने २४ वर्षीय राजेश राईलाई पक्राउ गरेको छ ।
प्रहरीले निजको साथबाट अवैध लुपिजेसिक, एभिल, फेनरागन, डाइजेपाम र नाम नखुलेको औषधिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । लागुऔषधसहित आएको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २६ वर्षीय मदन राई मोटरसाइकलसहित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए । -रासस