ताप्लेजुङ: तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
मंगलवार भएको क्वाटरफाईनल खेलमा सफलता हात पादै पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफसँग सेमिफाईनलको प्रतिस्पर्धा पक्का गरेका छन् । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।
पुलिसले प्रदेश ३ लाई २५–११, २४–२६, २५–१५ र २५–१४ को सेटमा पराजित गर्यो । दोस्रो क्वाटरफाइनलमा गण्डकीले टियु विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले विश्वबिद्यालय बिरुद्ध २५–१६, २५–११ र २५–१७ को सहज निकालेको थियो । तेश्रो क्वाटरफाईनल खेलमा आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्यो । आर्मीले प्रदेश २ माथी २५–१४,२५–१५ र २५–८ सेटको सहज जित निकालेको थियो । अन्तिम क्वाटरफाइनलमा एपीएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपीएफले प्रदेश १ लाई २५–१५,२५–१४ र २५–२० को सेटमा पराजित गरेको थियो ।
जलजले युवाक्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । उपविजेताले १ लाख७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६