यांगुन : म्यानमारका राष्ट्रपतिको आदेशअनुसार समाचार एजेन्सी रोयटर्सका पत्रकार वा लोन र क्वाय सोए ओलाई रिहा गरिएको छ ।
सन् २०१७ मे १० मा सुरक्षाकर्मीले रोहिंग्या मुस्लिम समुदायमाथि गरेको अत्याचारको रिपोर्टिङ गरेका थिए । सो क्रममा उनीहरुले गोपनीयताको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
यांगुनको बाहिरी क्षेत्रमा रहेको जेलबाट बाहिर निस्किएपछि पत्रकारसँग कुराकानी गर्दै ३३ वर्षीया पत्रकार वा लोनले भने, ‘म धेरै खुसी छु र म आफ्नो परिवार र साथीहरुलाई भेटेर खुसी छ । म समाचार कक्षमा पुग्न पर्खिन चाहन्न ।’
रोयटर्सका प्रधानसम्पादक स्टीफन जे.एडलरले भने, ‘म्यानमार सरकारले हाम्रा साहसी संवाददातालाई रिहा गर्ने निर्णय गरेकोमा म धेरै खुसी छु । यो प्रेसको स्वतन्त्रताको महत्वको प्रतीक बनिसकेको छ ।’
यी दुवै पत्रकारलाई गत महिना पुलिट्जर पुरस्कार प्रदान गरिएको थियो । रोहिंग्या समुदायमाथि सेनाले गरेको अत्याचारको रिपोर्टिङ गरेकै कारण पत्रकारलाई पक्राउ गरी जेल हालेकोमा संसारभरीबाट आलोचना भएको थियो ।
यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको अंकुशका रुपमा लिइएको छ । पुलिट्जर पुरस्कारबाट सम्मानित वा लोन र क्वाय सोए ओलाई हजारौं अन्य कैदीसँग रिहा गरिएको हो । राष्ट्रपतिले नयाँ वर्षको उपलक्ष्यमा रिहा गर्न आदेश दिएका थिए । म्यानमारमा हरेक नयाँ वर्षको अवसरमा राष्ट्रपतिले कैदीको सजाय माफ गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६