लहान : सिरहाको गोलबजार नगरपालिकास्थित लामाडाँडा सामुदायिक वनभित्र अवैध रूपमा सालको काठ काटेर घाटगद्दी गरेको अवस्थामा वन कार्यालयले ट्रयाक्टरसहित काठ बरामद गरेको छ ।
सबडिभिजन वन कार्यालय गोलबजारबाट फरेस्टर काशिन्द्र यादवको कमान्डमा खटिएको गस्ती टोलीले सालको गोलिया बोकेको स १ त ७१७९ नम्बरको ट्रयाक्टरसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको छ ।
वन कार्यालयबाट बिनाइजाजत अवैध रूपमा सालका सयौँ रूख कटान गरी बिक्रीवितरण गरिँदै आएको वन कर्मचारी काशिन्द्र यादवले बताए । लामाडाँडा सामुदायिक वनका अध्यक्ष आनन्द पाख्रिनले आफूखुसी झाडी सफाइको बहानामा हरियो सालका रूख कटान गरी बिक्रीवितरण गरिरहको जनकारी दिए ।
‘वन कार्यालयबाट कुनै किसिमको इजाजत दिइएको छैन, उपभोक्ताले आफूखुसी रूख कटान गरिरहेको पाइएको छ’, सूचना अधिकारी अमरेन्द्रप्रसाद यादबले बताए ।
डिभिजन वन कार्यालयबाट नियन्त्रित रूखहरू संकलनका लागि लगत लिई पेस गर्ने गरी पत्राचार भएको योजना शाखाका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । प्रदेश नम्बर २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बरामद काठको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री मण्डलले ऐनकानुन विपरीत कार्य गर्नेलाई आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६