भोजपुर : डाेकाेमा दूध दुहेर अडिँदैन भन्ने उखान प्रख्यात छ नेपाली समाजमा । तर त्यही डाेकाेकै दूधले नेपालका कैयाैं शहर र बजार धानिरहेकाे छ ।
त्यस्तै शहरमध्येकाे एक हाे पूर्वी पहाडको दुर्गम जिल्ला भोजपुर सदरमुकाम भाेजपुर बजार । याे बजारलाई गाउँबाट डाेकाेमा बाेकेर ल्याइएकाे दूधले पुर्याउनुपर्ने बाध्यता छ ।
पूर्वी पहाडको दुर्गम जिल्ला भोजपुरमा केही वर्षअघिबाट यातायातका लागि केही सहज भएको छ । तर पनि गाउँगाउँसम्म पुर्याइएका सडक अहिले पनि व्यवस्थित छैनन् । जसका कारण व्इवसाय सञ्चालनमा समस्या आएको बताउँछन् भोजपुरका डेरी उद्योग व्यवसायी ज्ञान कार्की ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर–४ दलगाउँ घर भएका कार्की जिल्लाका पुराना डेरी व्यवसायी हुन् । उनले भोजपुर नगरपालिका–७ सप्तधारा टोलमा गणेशथान दुग्ध उद्योग सञ्चालन गरिरहेका छन ।
गाउँबाट आएर कार्कीले अर्का एक जनाको सहयोगमा २०६९ साल असार महिनाबाट दुग्ध उद्योग सञ्चालनमा ल्याएका हुन् । व्यवसायी कार्की भन्छन्, ‘बजारमा मागअनुसार दूध र दुग्धजन्य सामग्री पुर्याउन पनि समस्या छ । कहिलेकाहीँ त आएका उपभोक्तालाई समेत खालि हात नै फर्काउनुपर्छ ।” अझ चाडपर्वको समयमा त आफूलाई झन् समस्या हुने उनले बताए । ।
डेरी व्यवसायी कार्कीको उद्योगमा फागुनदेखि असारसम्म दिनमा करिब एक सय ५० लिटर मात्र दूध संकलन हुने गरेको छ भने साउनदेखि माघ महिनामा दैनिक त्यसको दोब्बर अर्थात् ३ सय लिटरसम्म दूध संकलन हुने गरेको छ ।
सबै ठाउँमा सडक यातायात सहजरूपमा नजोडिएकाले आफ्नो डेरीमा कृषकहरूले डोकोका साथै प्लास्टिकका भाँडामा बोकेर दूध ल्याउने गरेको कृषक कार्कीले बताए । भोजपुर नगरपालिकाकै वडा नम्बर ७ मा पनि अर्को दुग्ध उद्योग सञ्चालित भए पनि सबैभन्दा बढी दूध कार्कीकैमा संकलन हुने गरेको छ ।
सडक सञ्जालका कारण समयमा डेरीसम्म दूध आइनपुग्ने, डोकोमा बोकेर ल्याउनुपर्ने, ढिलो हुँदा बाटोमा नै दूध बिग्रिने जस्ता समस्या रहेको व्यवसायी कार्की बताउँछन् । सबै क्षेत्रमा सडकको पहुँच पुगेमा आफैँले गाडी खरिद गरेर दुग्धजन्य सामग्री संकलन गर्ने सोच रहेको कार्की बताउँछन् ।
कार्की भन्छन्, ‘मेरो सोच भनेको पुरानो व्यवसायी पनि भएको र सबै उपभोक्ताले विश्वास पनि गरेको हुनाले गाडी खरिद गरेर माग अनुसार दूध र अन्य सामग्री उपभोक्तासम्म पुर्याऊँ भन्ने छ, तर के गर्नु सडक सञ्जालका कारण समस्या भएको छ ।’
गणेशथान दुग्ध उद्योग सञ्चालनमा आएदेखि नै दूध खरिद गर्दै आएका होटल व्यवसायी सञ्जीव कार्की आफूले यस डेरी उद्योगबाट दैनिक पाँच देखि सात लिटरसम्म दूध नियमित लाने गरेको बताउँछन् । कहिलेकाहीँ डेरीमै कम आउँदा आफू समस्यामा पर्ने गरेको उनले जनाए ।
उनी भन्छन्, ‘म यस डेरीको नियमित ग्राहक हुँ, नियमित ग्राहकका लागि डेरी सञ्चालकले व्यवहार पनि राम्रो छ ।’
भोजपुरमा बजारमा सञ्चालनका आएका डेरीहरूका लागि बोखिम, ढुंगे, खुरिला, पोखरे, टक्सार जस्ता क्षेत्रहरूबाट दूध संकलन गर्ने गरिएको छ ।
डेरीका लागि नियमित दूध दिएर आउने गरेका भोजपुर नगरपालिका १० खुरिलाका दूध बिक्रेता देवेन्द्र कार्की आफूले सुरुदेखि नै डेरीका लागि दूध ल्याउने गरेको बताउँछन् । उनले भने, ‘मैले करिब २०७० सालदेखि डेरीका लागि नियमित दूध ल्याउने गरेको छु । बिहानै बोकेर ल्याउनुपर्ने हुँदा चाहिँ आउन र जाँदै बिहान बित्ने गरेको छ ।’
‘सडक राम्रो हुँदा र डेरी सञ्चालकले आफै संकलन गर्ने व्यवस्था मिलाउँदा चाहिँ हामीलाई पनि दूध बिक्रीका लागि सहज हुन्छ’, दूध बिक्रेता कार्कीले भने ।
उन्नति परियोजनाले भोजपुर नगरपालिका–५ ढुंगेसम्म सडक निर्माण गरिदिएको र त्यहाँसम्म गाडी जेनतेन पुग्ने भए पनि अन्यत्र भने सडकको पहुँच राम्रो छैन । ढुंगेका दूध बिक्रेता नेत्र घिमिरे दूध संकलनका लागि गाडीको व्यवस्था व्यवसायीहरूबाट हुन नसक्दा संकलन केन्द्रसम्म आफैँ लिएर जानुपर्ने अवस्था रहेको बताउँछन् ।
गणेशथान दुग्ध उद्योगका सञ्चालक ज्ञान कार्कीले संकलन भएको दूध बिग्रिन नदिन जिल्ला पशु सेवा कार्यालयले आफूलाई फ्रिज सहयोग गरेको बताए । उनले उन्नति परियोजनाले कृषि सम्बन्धी तालिम पनि दिएको बताए ।
सरकारी स्तरबाट नै व्यवसायीहरूलाई प्रोत्साहन गर्न र नयाँ व्यवसायीलाई समेत आर्कषण गर्न अनुदान र आवश्यक सामग्री दिने व्यवस्था हुनुपर्ने भोजपुर दुग्ध उद्योगका सञ्चालक लक्ष्मी चौलागाईं बताउँछिन् ।
भोजपुरमा दूध प्रतिलिटर ७० रूपैयाँमा बिक्री हुने गरेको छ भने दही ८० र घीउ प्रतिकेजी एक हजार रूपैयाँमा डेरीबाटै बिक्री हुने गरेको छ । डेरी व्यवसायीले छुर्पी, पनिर, खुवा, कुराउनी जस्ता सामग्रीसमेत बनाएर बिक्री गर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६