काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टी नेपालको घोषणा भएको छ ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुवै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन् । पार्टी एकता कार्यक्रममा बोल्दै डा. भट्टराईले जुनसुकै बेला आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने हुनसक्ने बताए । उनले भने, ‘परिवर्तनका लागि जुनसुकै बेला अर्को आन्दोलन ल्याउनुपर्ने पनि हुनसक्छ ।’
त्यस्तै उनले संर्घषको हतियारको रूपमा कहिलेकाहीँ सरकारमा जान पनि सकिने बताए । ‘आवश्यक पर्याे भने संघर्षको हतियारको रूपमा कहिलेकाहीँ सरकारमा जानुपर्ने पनि हुनसक्छ । जनताको अधिकार कुनै पनि हालतमा छाड्नेवाला छैनौं’, उनले भने, ‘हाम्रा निम्ति सडक, सदन र सरकार संघर्षका मोर्चा हुन् । हाम्रा कोही पनि साथीहरू सुविधा भोग गर्नका निम्ति, भ्रष्टाचार गर्नका निम्ति सरकारमा जानुहुन्न । जान दिन पनि सक्दैनौं ।’
संविधान संशोधनको विषयमा उनले भने, ‘यदि संविधान संशोधन गर्नका निम्ति सरकारले हिजो एक प्रकारको आश्वासन दिएको छ, त्यो पूरा गर्दैन भने कुनै पनि बेला हामीले पार्टीमा आवश्यक निर्णय गर्ने छौं । जनतामाथि कुनै पनि हालतमा विश्वासघात गर्ने छैनौं ।’
कार्यक्रमले उनले पुँजीवादी धार र साम्यवादी धार विश्वमै संकटमा रहेको बताए । उनले भने, ‘यी धार निभ्न लागेको दियो जस्तो धिपधिप गरिरहेका छन् ।’
त्यसैले यी दुई धार बोकेर हिँडेका कांग्रेस र कम्युनिस्टको विकल्पमा समाजवादी धार उदाउँदै गरेको बताए । उनले समाजवादी धार गौतम बुद्घले फैलाएको शान्तिको सन्देश जस्तो तागतवर भएर आउँदै गरेको बताए ।
त्यस्तै कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अब राजनीतिमा सानोतिनो सटर खोल्ने दिन गएको बताए । उनले राष्ट्रिय जनता पार्टी नेपाल लगायत अन्य दललाई पनि एकताबद्ध हुन आग्रह गरे ।
‘सानोतिनो सटर खोलेर ग्राहक आउँछन् कि भनेर कुर्ने दिन गए’, यादवले भने, ‘राजपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायतलाई पनि एकताबद्ध हुन आग्रह गर्दछु ।’
कार्यक्रममा यादवले कम्युनिस्टलाई कमाउनिस्टको संज्ञा दिए भने कांग्रेस देशलाई दरिद्र बनाउन लागिपरेको बताए ।
यादवले विगतमा आफूहरू पनि कम्युनिस्ट भएको उल्लेख गर्दै ‘अहिले कम्युनिस्ट कमाउनिस्ट’ भएको टिप्पणी गरे । उनले भने, ‘कम्युनिस्टको बोलवाला भो । उनीहरू पदच्यूत भएर कमाउनिस्टको धारमा अघि बढिसके ।’
कांग्रेस र कम्युनिस्टले राजनीतिक आन्दोलन सकिएको तर्क गर्ने गरेको भन्दै उनले भने, ‘कांग्रेस र कम्युनिस्टले राजनीतिक आन्दोलन सकियो भनेका छन्, ‘उनीहरूका दिन सकिएको हो । अब शोषित पीडितको दिन आएको छ । अब समाजवादीका दिन अघि बढ्छ । जनताका चाहना पूरा हुने सम्भावना बोकेर हामी अघि बढिसकेका छौँ ।’
उनले कांग्रेसको सिद्धान्त नै संवैधानिक राजतन्त्र भएको भन्दै सो पार्टी अहिले त्यसैमा लागेको बताए । उनले देशलाई दरिद्र बनाउने काम कांग्रेसले गरेको आरोप पनि लगाए ।
त्यसैगरी कार्यक्रममा नेता अशोक राईले सिंहदरबारमा सिंह बस्नुपर्नेमा स्याल कराउन थालेको टिप्पणी गरे ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६