काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्रका बी र सी डिभिजनका फुटबल क्लबलाई क्रमश: तीन र दुई लाख रुपैयाँ अनुदान दिएको छ ।
अनुदान पाउने क्लबहरूमा बी डिभिजनका अन्नपूर्ण क्लव, टुसाल युवा क्लव, कुमारी युवा क्लव, बाँसबारी युवा क्लव छन् भने सी डिभिजनका सानो गौचरण क्लव, महावीर क्लव, समाज कल्याण खेलकुद क्लव प्लानिङ वाइज युनाइटेड, स्वयम्भू क्लव, मनोहर एकीकृत क्लव र सामाजिक युवा क्लव रहेका छन् ।
अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफूले पनि जित्ने र टिमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरूले टिमले जित्ने गरी खेल्नुपर्ने भन्दै राजनीतिमा पनि त्यही नियम लागू हुने बताए । उनले आगामी दिनमा महानगरले खेलकुदको विकास र पूर्वाधारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा उपमयेयर हरिप्रभा खड्गीले महिलाहरूको खेलकुदको पनि विकास गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताए । एन्फाका अध्यक्ष कर्माछिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको खुलेर प्रसंशा गरे । उनले महानगरको सामाजिक विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसअघि महानगरभित्रका ए डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख रुपैयाँ सहयोग गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६