भोजपुर: आर्थिक अवस्था कमजोर भएकाहरूलाई नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् मिटर दिन थालेको छ ।
आर्थिक अवस्थाका कारण मिटर लिन समस्या भएकाहरूले पनि प्राधिकरणबाट मिटर पाएपछि खुसी व्यक्त गरेका छन् ।
आफ्नो स्थानीय तहको वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिस ल्याएमा निःशुल्क रूपमा विद्युत् मिटर उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएको परिपत्र अनुसार भोजपुरमा पनि विपन्न परिवारलाई विद्युत् मिटर दिन थालिएको वितरण केन्द्रका प्रशासन प्रमुख गणेशप्रसाद खनालले बताए । खनालले भने, ‘अतिविपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरूका लागि निःशुल्क मिटर उपलब्ध गराइने छ ।’
भोजपुर नगरपालिका–८ पोखरेका रमेश विश्वकर्माले प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिएपछि मात्रै आफ्नो घरमा बत्ती बलेको बताए । उनले मात्र होइन, स्थानीय तहको सिफारिसमा भोजपुरका अन्यले पनि निःशुल्क मिटर लगेका छन् ।
भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका ७ कोटका हर्कराज राई र सोही वडाकी जानुकादेवी राईले पनि आर्थिक अवस्था कमजोर भएकाहरूले वडाको सिफारिसको आधारमा मिटर लगेको बताए ।
भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोपाल कार्कीले प्राधिकरणको यस्तो सहयोगले विपन्न तथा आर्थिक अवस्था कमाजोर भएका परिवारले पनि घरमा बत्ती बाल्न पाउने बताए । उनले भने, ‘हामीले परिवारको अवस्था हेरेर निःशुल्क मिटरका लागि सिफारिस गर्ने गरेका छौँ ।’
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/०७६ का लागि यो व्यवस्था गरिएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६