भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरमा छोराको जन्म दिए पश्चात अत्याधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारका लागि हेलिकप्टर मार्फत विराटनगर पठाइएको छ ।
जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ घर भई हाल भोजपुर नगरपालिका वडा नम्बर ९ भोटेपसलमा बस्दै आएकी कमला राईको उद्धार गरी थप उपचारका लागि विराटनगर पठाइएको हो । सोमबार बिहान ३ बजेर ३८ मीनेटमा घरैमा छोराको जन्म दिएकी कमलाको अत्याधिक रत्तश्राप भएपछि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५’ अनुसार कमलाको उद्धार गरी हेलिकप्टर मार्फत थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको बताइएकाे छ ।
भोजपुर जस्ता दुर्गम जिल्लाका सुत्केरी महिलाहरुले पनि कार्यक्रम अन्तर्गत सेवा पाउनु खुशीको कुरा भएको महिला अधिकारकर्मीहरुले बताएका छन । सरकारी तहबाट हुने यस्ता सहयोगले सुत्केरी महिला र शिशुको ज्यान जोगिने भएकाले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने महिला अधिकारकर्मी निर्मला खडकाले बताइन ।
महिला मन्त्रालयले लगातार लामो प्रसव बेथा लागेको, बच्चा जन्माउन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएको, गर्भावती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनि परिभाषित गर्दै त्यस्तो अवस्थाको महिलालाई उद्धार गर्ने गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अधिकृत अन्जु ढुङगानाले जानकारी दिएकी छन ।
दुर्गम तथा ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार कार्य कार्यविधि तयार पारी गत पुस महिनाबाट सुरु गरेको हो । सरकारले आर्थिक वर्ष २०७५÷०७६ बाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल हवाई उद्धार गरी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालनमा ल्याएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६