काठमाडौं : नयाँ बसपार्क पुलसँगैको अतिक्रमण डाेजर चलाएर हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सडक करिडोर सडक अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आवासीय टहरा हटाइएको हो । योसँगै विष्णुमती करिडोर खुला भएको छ ।
यसले बलाजु, गंगोबु, समाखुसी लगायतका क्षेत्रमा हुने जाम घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यस्तै लामो दूरीका यातायातका साधनलाई सहज हुने छ । नयाँ बसपार्क गेटअगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।
‘यो करिडोरको राम्रोसँग सुधार गरेर सञ्चालन गर्ने हो भने यो क्षेत्रको ५० प्रतिशत जाम कम हुन्छ,’ महासचिव सिटौलाले भने ।
पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनधिकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।
नयाँ बसपार्कको व्यवस्थापनका लागि पनि काम थालिएको छ । काठमाडौं उपत्यकाभित्र जाम घटाउन करिडोर सडक र पुलमुनिको सडकलाई पनि स्तरोन्नति गर्ने योजना बनेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६