विराटनगर : प्रदेश नम्बर १ को प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् सचिवालयमा पेस गरेको राजधानीको प्रस्तावको विषयमा रणनीति बनाउन गृहकार्य सुरु गरेको छ ।
प्रदेश १ मा दुई तिहाई बहुमत सदस्य रहेको नेकपाले कैफियतसहितको राजधानीको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि कांग्रेस त्यसको बिपक्षमा रहेको छ । नेकपाले प्रस्तावमाथि असहमति जनाउँदै कांग्रेसले आइतबार नै विराटनगरमा मात्र प्रदेशको राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । विपक्षी दल कांग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सत्तारुढ दलले पलेर लगेमा त्यसको सशक्त प्रतिकार गर्ने बताए ।
‘हामी अहिले पनि छलफल र संवादको क्रममा छौँ । सहमतिबाटै राजधानीको विषयमा टुंगो गरौँ भन्ने कांग्रेसको मान्यता हो । तर एकतर्फी तवरले पेलेर लगेमा कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्छ’, प्रमुख सचेतक कार्कीले आजको न्युजसँग भने, ‘कसरी प्रतिकार गर्ने, रणनीति के बनाउने भन्ने विषयमा छलफल हुँदै छ । हामी बैठक बसेर छलफल गर्छौं ।’
सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो २ बजे संसद्को बैठक आह्वान गरेका छन् । राजधानीको सम्बन्धमा आइतबार चार वटा प्रस्ताव पेस भएपछि सोमबारबाट औपचारिक रुपमा संसद्मा राजधानीको विषयले प्रवेश पाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६