विराटनगर : सत्तारुढ दल नेकपाले आइतबार प्रदेशसभाको सचिवालयमा प्रदेश १ को राजधानी विराटनगरमा राख्ने प्रस्ताव दर्ता गरायो । सत्तारुढ दलले अघि सारेको वृहत् विराट क्षेत्रको अवधारणामा टेकेर कैफियतमा प्रदेशको कार्यपालिका र व्यवस्थापिका विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासको क्षेत्रमा हुने भन्ने विषयलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले बेग्लै प्रस्ताव दर्ता गरायो ।
राजधानीको विषयमा शान्त रहेका विराटनगरवासी ‘कैफियत’ मा राखिएको बँुदाका कारण सशंकित भएपछि आइतबार राति विराटनगर महानगरपालिकाको सभाकक्षमा जम्मा भए । उनीहरूले भेषप्रसाद धमलाकोे नेतृत्वमा समितिको गठन गर्दै रातारात अनिश्चितकालीन विराटनगर बन्दको घोषणा गरे । सुरुआतदेखि नै विराटनगरमा प्रदेशको राजधानी हुनुपर्ने माग गर्दै आएको विराटनगर महानगरपालिकाले पटकपटक राजधानीको विषयमा लबिङ गर्दै आएको थियो ।
दुई दिनअघि मात्र विराटनगर महानगरका मेयर भीम पराजुलीले डाकेको सर्वपक्षीय भेलामा सहभाी सबैले प्रदेशको राजधानी विराटनगर नै हुनुपर्ने एकस्वरमा बताए । तर त्यही भेलामा सहभागी भएका नेकपा सांसद् सावित्राकुमारी रेग्मी र यशोधा अधिकारीले आइतबार नेकपाको प्रस्तावमा समर्थक भएर सहीछाप गरिदिए ।
आइतबार बिहान राजधानीका लागि महानगरले ५० बिगाह जमिन दिने घोषणा गरेका मेयर भीम पराजुली यतिबेला नागरिकको आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँछन् ।
आजको न्युजसँग कुरा गर्दै मेयर पराजुलीले भने, ‘विश्वको इतिहासमा नै नभएको हाँसउठ्दो निर्णय भएको छ । काठमाडौंमा नै सिंहदरबार र सांसद् भवन आधा किलोमिटरको दूरीमा छैन । यहाँ त २५–२५ किलोमिटरको दूरीमा कार्यपालिका र व्यवस्थापिकाको निर्माण गरिने कुरा गरिँदै छ । यो निर्णय हामीलाई कदापि मान्य हुनेछैन ।’ उनले टाउको एकातिर र हातखुट्टा एकातिर भएको राजधानी आफूहरूलाई मान्य नहुनेसमेत उल्लेख गरे ।
विराटनगरमा रहेका विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरेर अस्थायी राजधानीका लागि पहल गरेका मेयर पराजुलीले नेकपाले संसद्मा दर्ता गरेको प्रस्तावलाई नियतमाथिको खोट भएको संज्ञा दिए । उनले यो प्रस्ताव विकासको विरोधी भएकोसमेत प्रष्ट पारे । ‘सबैलाई खुसी बनाउन प्रस्ताव दर्ता गरिएको भए त्यो झन दुर्भाग्यपूर्ण छ । हामीले पहिलेदेखि नै उपयुक्त स्थानमा प्रदेशको राजधानी हुनुपर्छ भन्दै आएका थियौँ र त्यसका लागि विराटनगर नै उपयुक्त छ’, उनको भनाइ थियो, ‘इतिहास, पूर्वाधार र राज्यले आर्थिक रूपले जहाँ धान्छ, त्यहीँ राजधानी बनाऊँ तर गलत निर्णय गरेर विकासको बाधक नबनौँ ।’
विभाजित भए नागरिक
विराटनगर बन्दको विषयलाई लिएर आमनागरिक विभाजित भएका छन् । आइतबार राति गठन गरिएको समितिमा नेकपाका तर्फबाट महेश रेग्मी र पारुल क्षेत्री सहभागी छन् । तर सत्तारुढ नेकपाले भने यो आन्दोलनमा आफ्नो समन्वयकारी भूमिका मात्र रहने प्रष्ट पारेको छ ।
नेकपाका मोरङका सचिव गोपी अछामीले विराटनगरबाट राजधानी दायाँबायाँ सार्न नहुने कुरामा सबैको एकमत रहेको बताउँदै नागरिक समाजबाट उठेको मागलाई समन्वयकारी तवरले समाधान गर्न आफूहरूको पहल हुने बताए । उनले भने, ‘मुख्यमन्त्रीसँग छलफल गरेर माग सम्बोधनको प्रयास गर्ने छौँ ।’
प्रदेशको राजधानीको विषयलाई लिएर धरान, इटहरी र धनकुटाका नागरिकको आ–आफ्नै मत छ । आइतबार मात्र धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउँदै राजधानी धरानमा हुनुपर्ने माग राखिन् । धरानबाट विराटनगर आएका धरानबासीले सिठ्ठी जुलुस निकाल्दै राजधानी धरानमा हुनुपर्ने माग गरे ।
यता नेकपाका सांसद् लिलम बस्नेतलगायतको माग भने बग्लै छ । उनीहरू इटहरीमा प्रदेशको राजधानी हुनुपर्ने माग गर्दै आएका छन् । प्रदेशमा बहुमत रहेको नेकपाभित्रै मत विभाजित भएपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईलाई नै असहज भएको छ ।
धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्हरूले आइतबारको संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेख्दै प्रस्तावको विपक्षमा आफ्नो मत राखे । उनीहरूले प्रदेशको राजधानी धनकुटा हुनुपर्ने छुट्टै प्रस्ताव समेत दर्ता गराए ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६