–किरण मरहठ्ठा
न्युयोर्क । अमेरिकामा रहेका किराँत धर्मावलम्बीहरुले यस बर्षको किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा (उभौली पर्व) टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि मनाउने भएका छन । आगामी मे २६ देखि २८ सम्म चल्ने कार्यक्रममा अमेरिकामा रहेका किराँतहरुको केन्द्रीय संगठन किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटी अफ टेक्सास फर रिलीजन एण्ड कल्चरले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन । अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहने पर्वलाई विगत ४ वर्षदेखि किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा रहेका आफ्ना शाखाहरुसँग मिलेर मनाउदै आएको छ । विदेशमा रहेर पनि आफ्नो कला, धर्म र संस्कृतिको संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचान जोगाउने उद्देश्यले यो पर्व मनाउन लागिएको किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुहाङले बताए । किराँत धर्मका पुजारी समेत रहेका सुहाङले विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागि हेरक बर्ष उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग प्रार्थना गर्ने गरेको उल्लेख गरे ।
किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुहाङसँगको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।
तीन दिनसम्म चल्ने सो मेलाको पहिलो दिन किराँत कम्युनिटी अर्गनाइजेसनको राष्टिय भेला तथा साधारणसभा तथा विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा हुनेछ भने अन्तिम दिन सांस्कृतिक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रचार संयोजक मिरा राईले जानकारी दिनुभयो ।
उभौली र उधौली किराँत धर्मका दुई महान चाडहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै वर्षामा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । कार्यक्रममा सहभागिताको लागि अमेरिकामा रहेका समस्त भुटानी तथा नेपाली समुदायमा अर्गनाइजेसनले हार्दिक अपिल समेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३