विराटनगर : आइतबार साँझ सत्तारुढ नेकपाले प्रदेशसभा सचिवालयमा दर्ता गराएको स्थायी राजधानीको बिषयलाई लिएर विराटनगर बन्दको आब्हान गरिएको छ । आइतबार मध्यरातमा दवाव समूह गठन गर्दै विराटनगर बन्दको आब्हान गरिएको हो ।
नेकपाले प्रदेश १ को स्थायी राजधानी विराटनगर हुनेगरि प्रस्तावको कैफियतमा कार्यपालिका र ब्यवस्थापिका बृहत् विराट क्षेत्र अन्तरगतको विराटनगर, इटहरी र सुन्दर हरैचा आसपासका क्षेत्रमा रहने बिषयमा बिरोध जनाउँदै बन्दको आब्हान गरिएको हो । भेषप्रसाद धमलाको संयोजकत्वमा गठन भएको शान्तिपूर्ण दवाव समितिले विराटनगर क्षेत्रमा कार्यपालिका, ब्यवस्थापिकासहितको राजधानी घोषित नभएमा अनिश्चितकालिन बन्दको आयोजना गरिएको हो ।
समितिको सह–संयोजकमा नेकपाका तर्फबाट महेश रेग्मी, नेपाली काँग्रेसका तर्फबाट नागेश कोइराला र मोदराज घिमिरे, संघीय समाजवादीका तर्फबाट राजकुमार यादव र राजपाका तर्फबाट मोहम्मद कादिर रहेका छन् । समितिको सदस्यहरुमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडा, नेकपाका पारुल क्षेत्री लगायतका रहेका छन् ।
समितिले आइतबार राति नै प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको राजधानीका लागि आधारभूत संरचना भईसकेको अबस्थामा कार्यपालिका र ब्यवस्थापिका बिनाको राजधानी रहने प्रस्ताव हास्यास्पद, षडयन्त्रपूर्ण र खेदजनक रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘राजधानी तोक्ने जस्तो गम्भीर र दुरगामी महत्व राख्ने बिषयमा जनताको मर्म र भावना विपरित प्रस्ताव दर्ता गराई निर्णय गराउने मनसाय अत्यन्त आपत्तिजनक छ ।’
समितिले यो अभियानमा सबै सरकारी, गैरसरकारी, नीजि ब्यवसायिक प्रतिष्ठान, कलकारखाना, शैक्षिक प्रतिष्ठान र यातायतका साधानहरु बन्द गर्न आब्हान गरेको छ । साथै संचालन भइरहेको कक्षा १२ को परिक्षालाई अवरोध नगर्ने समेत जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६