नयाँदिल्ली : भारत र बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ ।
आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुवै देशका अधिकारीहरूले जानकारी दिएका छन् । भारतको उडिसाबाट शुक्रबार सुरु भएको आँधी प्रति घण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो । तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन् ।
उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकहरूको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिए । आँधीका कारण भारतको उडिसामा १२ लाख र बङ्गलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र सो बाढीमा परी दुई हजार बढी घर ध्वस्त भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।
छ जनाको रूख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य छ जनाको चट्याङका कारण मृत्यु भएको बङ्गलादेशी विपद् व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताए । बङ्गलादेशी अधिकारीले फानीका कारण घरमा क्षति पुगेको, रूख ढलेका, विद्युत सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।
टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीले दशौँ हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् । सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिण-पश्चिम बङ्गलादेशमा ताण्डव मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाख बढी मानिस प्रभावित भएका थिए ।