काराकास : भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।
उक्त हेलिकोप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । राष्ट्रपति मदुरोले ट्विट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको बताएका छन् । मृतक सैनिकहरूमा दुई जना मेजर, तीन जना क्याप्टेन र दुई जना लेफ्टिनेन्ट कर्णेल रहेका छन् ।
रक्षा मन्त्रालयले उक्त दुर्घटनाका बारेमा छानबिन थालेको छ । राष्ट्रपति मदुरो शनिबार सान कार्लोसमा थिए । पाँच हजार बढी सैनिक सहभागी परेडको निरीक्षण गर्न राष्ट्रपति मदुरो यहाँ आएका हुन् । विपक्षी नेता हुँवा गुएइदोको विरुद्धमा शक्ति प्रदर्शन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
गत साता राष्ट्रपति मदुरोविरुद्धको सैनिक विद्रोह पनि बिफल भएको थियो । विपक्षी नेता गुएइदोले सेनालाई राष्ट्रपति मदुरोलाई समर्थन नगर्न निरन्तर आग्रह गरिरहेका छन् ।