काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्वारा आज संयुक्त रूपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता ५० ओभरको हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा एक हातले क्याच गर्ने दर्शकले ५० हजार रुपैयाँ पाउनेछन् । राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि निजी संस्थासँग सहकार्य गरिरहेको बताए । राष्ट्रिय टोलीका सदस्यहरूले पनि प्रधानमन्त्री कप खेल्नुपर्ने उनको भनाइ थियो ।
प्रतियोगिताको कूल बजेट एक करोड ७५ लाख रुपैयाँ रहेको छ, जसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६