सोलुखसम्बू : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको कामले खुम्बू क्षेत्रको पर्यटनमा असर गरेको छ । पछिल्लो दुई वर्षको पर्यटक आगमनको आँकडा हेर्दा पर्यटक आगमन न्यून भएको छ ।
सोलुखुम्बूको सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या एक वर्षमा समान्य बढेको देखिन्छ । तर सिजनगत हेर्ने हो भने स्प्रिङ सिजनमा पर्यटक घटेको छ । स्प्रिङ सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसम्भारको काम भएकाले सगरमाथा क्षेत्र जाने पर्यटकको संख्या घटेको पर्यटन व्यवसायी बताउँछन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७४ सालको तुलनामा करिब चार हजार पाँच सयले बढेको छ । २०७४ सालमा ५३ हजार १७ जनाले सगरमथाा क्षेत्रको भ्रमण गरेका छन् । त्यस्तै २०७५ सालभर ५७ हजार पाँच सय ३२ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार हवाई दूरी नजिक भएकाले उडान संख्या भने धेरै देखाउँछ । तर पर्यटकको संख्या भने घटेको छ । पर्यटक प्रहरी कार्यालय लुक्लाको तथ्यांकअनुसार मन्थली–लुक्ला सिधा उडान भएपछि पर्यटकको संख्या घटेको हो ।
स्प्रिङ सिजन सुरु भएसँगैको तथ्यांक हेर्दा घटेको देखाउँछ । माघ महिनाबाट सिजन लागेको छ भने त्यही महिनाबाट पर्यटक पनि घटेको छ । २०७४ माघमा दुई हजार दुई सय ७४ जनाले भ्रमण गरे भने २०७५ माघमा घटेर दुई हजार दुई सय ४४ ले मात्र भ्रमण गरेका छन् ।
त्यस्तै अघिल्लो वर्षको फागुनको तुलनामा २०७५ सालको फाुगनमा तीन सय ९१ जनाले पर्यटकको संख्या घटेको छ भने चैत्र महिनामा छ सय ११ जना पर्यटक घटे ।
साहसिक पर्यटन, वन्यजन्तु, हिमाल आदिको अवलोकनमा उपयुक्त गन्तव्य रहेको सगरमागा क्षेत्रमा पर्यटकको संख्या घटेसँगै पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन् । खुम्बू क्षेत्रका बारेमा विभिन्न गलत प्रचार भएकाले पर्यटक घटेको पर्यटन व्यवसायीहरूको अनुमान छ ।
यस वर्ष सगरमाथा सफा छ भन्ने सन्देश फैलाउने उद्देश्यले सगरमाथा सरसफाइ भइरहेको हुँदा पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै सगरमाथा क्षेत्रमा बस्ने पर्यटकको संख्या घटेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बू क्षेत्र कम्तीमा आठ दिन र बढीमा ३५ दिनसम्मको रुटमा पर्यटक आउने गरेका छन् । नाम्चे होटल व्यवसायी संघका अनुसार लामो समय बस्ने पर्यटक कम छन् भने छोटो रुटका कर्मचारी मात्र आउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६