विराटनगर : प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रमुख दलहरूबीच निक्कै रस्साकस्सीको बीचमा सत्तारुढ नेकपाले विराटनगरको प्रस्ताव गरिएको छ । तर सतारुढ नेकपा प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रस्तावमा असहमति राख्दै कांग्रेसले छुट्टै प्रस्ताव दर्ता गराएको छ ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आइतबार प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका रहने प्रस्ताव दर्ता गराएका छन् । सांसद्हरू यशोदा अधिकारी, सावित्रा रेग्मी, लीलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा समर्थक रहेको सो प्रस्तावको कैफियतमा ‘कार्यपालिका, ब्यवस्थापिका लगायतका अन्य संरचनाहरू वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासका क्षेत्रमा रहने छ’ भनी प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी कांग्रेसले त्यसमा असहमति जनाएको हो ।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दर्ता गरेको प्रस्तावमा स्थायी राजधानी विराटनगर हुनुपर्ने प्रस्ताव गरिएको छ । सो प्रस्तावको समर्थकमा कांग्रेसका सांसद् शिवनारायण गनगाई र संघीय समाजवादीका जयराम यादव छन् । त्यस्तै पहाडी जिल्ला धनकुटामा प्रदेश १ को स्थायी राजधानी हुनुपर्ने माग गर्दै आएका धनकुटाका सांसद्हरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
धनकुटा राजधानी होस् भन्ने प्रस्ताव राख्दै सांसद् लीला सुब्बा छुट्टै प्रस्ताव दर्ता गरेका छन् । सो प्रस्तावको समर्थकमा प्रतापप्रकाश हाङमाङ र रामकुमार लिम्बू रहेका छन् । त्यस्तै निरन राईको प्रस्तावमा इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक रहेको अर्को प्रस्ताव पनि दर्ता गरिएको छ ।
सोमबारदेखि छलफल हुने
स्थायी राजधानीको विषयलाई लिएर प्रदेशसभामा औपचारिक छलफल सोमबारबाट हुने भएको छ । राजधानीको प्रस्ताव दर्ता भएपश्चात् प्रदेशसभाको सचिवालयले आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा सोमबारदेखि छलफल हुने जानकारी दिइयो ।
प्रदेशसभाका मुख्य सचिव गोपाल पराजुलीले पत्रकारसँग प्रदेशको राजधानी र नामाकरणको विषयमा वैशाख २२ गतेसम्मको समय रहेको जानकारी दिँदै सोमबारबाट यो विषयले औपचारिक रूपमा प्रवेश पाउने बताए । उनले भने, ‘यो विषयले संसद्मा प्रवेश पाएको छ । कार्य व्यवस्था परामर्श समितिको परामर्श अनुसार सभामुखज्यूले बिषयलाई अघि बढाउनु हुने छ ।’
कैफियतमा कांग्रेसको आपत्ति
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेकपाको प्रस्तावमा कैफियत थपिएकामा आपत्ति जनाएको छ । आइतबार दिनभर प्रदेशसभा भवनमा दलहरू आन्तरिक छलफलमा व्यस्त रहे । पटकपटक नेकपा र नेपाली कांग्रेसको बैठक बसेको थियो । प्रमुख विपक्षी कांग्रेस नेकपाले प्रस्ताव गर्ने राजधानीको आधारमा आफ्नो रणनीति बनाउन लागिपरेको थियो ।
साँझ ५ बजे नेकपाले विराटनगर राजधानीसहित कैफियतमा बृहत् विराट क्षेत्र अन्तर्गतका इटहरी, सुन्दरहरैँचा र विराटनगरमा कार्यपालिका र व्यवस्थापिका रहने प्रस्ताव गरेपछि कांग्रेसले विराटनगर महानगरपालिकामा मात्र राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गरायो ।
पत्रकारसँग कुरा गर्दै विपक्षी दलका नेता राजीव कोइरालाले राजनीतिक र ऐतिहासिक शहर विराटनगरमा नै प्रदेशको राजधानी हुनुपर्ने धारणा राखे । उनले पत्रकारलाई भने, ‘यो जननायक बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको पुण्यभूमि हो । यसर्थ राजधानी यहीँ हुनुपर्छ । तर नेकपाले कैफियत राखेपछि हामीले छुट्टै प्रस्ताव दर्ता गरायौँ ।’
भिडियाे :
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६