काठमाडौं : पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीका डिएसपी रवीन्द्रसिंह धानुकले बताए।
अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गरेकी छिन् ।
तर अस्पतालल आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दावी गर्दै आएको छ । अस्पतालले पटक पटक बच्चा बुझ्न साहलाई आग्रह गरेपनि बुझ्न मानेको छैन ।
अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।
यता, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले साह दम्पत्तिलाई पक्राउ गरी परिसरमा राखिएको जानकारी दिए ।
पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६