नेपाल सरकारले एक करोड रूपैयाँभन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन ।
गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले सो निर्णय कार्यान्वयन नगरेकाे हो । सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी उक्त निर्णय गरेको थियो ।
अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत रु १५ लाख रुपैंयाको सो योजनाको काम जारी रहेको छ । उक्त योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ ।
काम अन्तिम चरणमा पुगेको वडा नं. ८ का वडा अध्यक्ष थमान रानाले जानकारी दिए, डोजर प्रयोग गर्ने नगर्नेबारे गाउँपालिकाले कुनै निर्णय गरेको छैन, यो बजेटको काम पनि गाउँपालिकामार्फत नै गरिएको हो । वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीको खड्केनीपोखरामा पनि हाल रु सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन् ।
बल्ढेङ्गढीकै गहतेमा पनि रु १२ लाख बजेटको बाटो अध्यक्ष कार्कीकै डोजर प्रयोग गरेर निर्माण काम गरिएको छ । दुईसाता अघि मात्र उक्त काम सकिएको छ । बल्ढेङ्गढीकै चिदीपानीमा रु दुई लाखको बजेटमा पनि वडा अध्यक्ष देवेन्द्र पुनका भिनाजुको डोजर प्रयोग गरेर करिब एक किलोमिटर नयाँ बाटोको ट्रयाक खोलिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने, काम गर्ने जनशक्ति नभएकाले होला त्यसो गरिएको, कहाँ के भइरहेको छ म बुझौंला । स्थानीयका अनुसार अध्यक्ष कार्की र उgका आफन्तका गरी आधा दर्जन डोेजरले गाउँपालिकाभित्र काम पाएका छन् । आठ वडा रहेको गाउँपालिकाभित्र अध्यक्षसहित चार वडा अध्यक्षको डोजरमा लागानी रहेको स्थानिय भुवन रायमाझिले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६