सोलुखुम्बू : रायोको साग र धनियाँ बिक्रीबाट महिनामा कति आम्दानी हुन्छ ? समान्य अनुमानले प्रतिमुठा १० रुपैयाँका दरले दिनको २० मुठा बिक्री गर्न सकिन्छ । महिनामा ६०० मुठा बिक्री गरेर छ हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ । तर सोलुखुम्बूका एक कृषि उद्यमी जोडीले गत चैत महिनामा मात्र दुई लाख रुपैयाँ बढीको रायो र धनिँया बिक्री गरेका छन् ।
सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका– २ घाटमा साग र धनियाँ मात्र बिक्री गरेर लाखौँ आम्दानी गरेको उत्तरबहादुर राईले बताए । पर्यटकीय सिजन भएकाले खुम्बू क्षेत्रमा बढी कारोबार भएको हो । घाट र त्यसभन्दा माथिल्लो क्षेत्रमा सागबाहेक अरू खासै उत्पादन हुँदैन । उच्च हिमाली क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा मूला, गाँजर, आलु र साग जस्ता कृषिजन्य उपज मात्र उत्पादन हुने कृषक राईले बताए । समुद्र सतहदेखि दुई हजार ६०० मिटर उचाइमा पाँचवटा टनेलभित्र साग उत्पादन गरिरहेका राई परिवारले राम्रै आम्दानी भइरहेको बताए ।
मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका राई जोडीले पर्यटकीय सिजनको चैतमा मात्र लाखौँ रुपैयाँको साग र धनियाँ बिक्री गरेका हुन् । व्यावसायिक रूपमा कृषि उपजको बिक्री गर्दै आएका उनीहरूले अन्य तरकारी काठमाडौंबाट ढुवानी गरेर बिक्री गर्दै आएका छन् भने साग, आलु, मूला र गाँजर त्यहीँ उत्पादन गरेर बिक्री गर्ने गरेका हुन् । अहिले साग र धनियाँबाहेकको सिजन नभएको उनले बताए ।
उनले तरकारी व्यवसायबाट राम्रो आम्दानी गरिरहेको र त्यसबाट आएको आम्दानीले घरखर्चसँगै सन्तानको शिक्षामा लगानी गरिरहेको पनि बताए । उत्तरबहादुर राई बिहीबारको लुक्ला बजार तथा शुक्रबार र शनिबार लाग्ने नाम्चे बजार भरियासहित धाउँछन् भने उनकी श्रीमती खिनीमाया सागको गोडमेलमै व्यस्त हुन्छिन् । धेरै चिसो भएकाले उत्पादनमा धेरै चुनौती रहे पनि विगत सात वर्षदेखि निरन्तर व्यावसायिक रूपमा खेती थालिएको राई परिवार बताउँछ ।
राई यस क्षेत्रमा चिसो भएकाले र कसैको राम्रो फार्म नभएकाले उत्पादन भइहालेमा बिक्रीको समस्या नरहेको बताउँछन् । व्यावसायिक रूपमा खेती गर्न थालेकाले उत्तरबहादुर राईको नामै फेरिएको छ । सांग्रिला होटल फाक्दिङका आङ सानी शेर्पाका अनुसार राईलाई ‘ग्रिन हाउस कान्छा’ भनेर खुम्बू क्षेत्रमा सबैले चिन्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६