पोखरा: बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करिब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो ।
फाउण्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिशमा १०/१० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागेको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए । बालबालिका र वातावरणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ २०६५ सालमा स्थापित सो संस्थाबाट हालसम्म एक हजार १०० बालबालिका लाभान्वित भइसकेको फाउण्डेशनका सचिव टङ्कराज अधिकारीले जानकारी दिए ।
न्यूनकतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउण्डेशनले सहयोग पुर्याउँदै आएको बताए। यसैबीच फाउण्डेशनले आज पोखरा महानगरपालिका–२ स्थित बिन्ध्यवासिनी मावि, वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मावि एवम् वडा नं १६ का विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।यसअघि पोखरा महानगरपालिका–३ स्थित कन्या मावि, ४ स्थित नवीन मावि र ७ स्थित श्रीकृष्ण माविमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरिसकेको सचिव अधिकारीले बताए । वैशाखभित्र महानगरपालिकाभित्र सम्बन्धित वडा कार्यालयको सिफारिशअनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।
फाउण्डेशनले वातावरणीय संरक्षणका लागि वृक्षरोपण र फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्दै आएको छ । त्यस्तै सन् २०१९ सम्ममा पोखरा महानगरपालिकालाई बालमैत्री लक्ष्यलाई सहयोग गर्न फाउण्डेशनले महानगरपालिकाको सहयोगमा प्रत्येक वडामा बाल भेला सञ्चालन पनि गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६