ललितपुर बुंगमतीका ४५ वर्षीय राजसभाइ शाक्य बिहान सात बजे आफ्नो पसलमा पुग्छन् । उनको हस्तकलाको व्यवसाय छ । उनी विगत ३५ वर्षदेखि नै यो व्यवसायमा संलग्न छन् । उनी आफैंले विभिन्न प्रकारका काठबाट भगवानको मूर्ति, झ्याल, ढोकालगायत अन्य हस्ततलाका सामग्री बनाउँछन् ।
बिहान सात बजेबाटै यहाँ बसेर काम गर्न थाल्छु , आफ्नो कार्यस्थल तथा पसल देखाउँदै उनले भने, कुनै कुनै पुरा हुन महिनौं लाग्छ। कुनै भने हप्ता, १५ दिनमा सकिन्छ ।
काठमा सुन्दर बुट्टा कुँदेर मुर्ति बनाउन उनी अब्बल छन् । त्यसो त बुंगमती परिसरमा यो व्यवसायमा धेरै परिवार संलग्न छन् तर शाक्यको भने यसमा छुट्टै लगाव छ । यो व्यवसायले उनको सात जना परिवारको आवश्यकता, पढाइ खर्च राम्रोसँग जुटेको छ ।
नेपालका धेरै नाम चलेका सेलिब्रेटी मेरो पसलसम्म हस्तकला सजावटका सामानको अडर दिन आउनुहुन्छ , उनी भन्छन्, मेरो कामको प्रशंसा विदेशबाट पनि हुन्छ , विदेशबाट पनि अर्डर आउँछ ।
आफू ११ वर्षको हुँदादेखि आफ्ना बुबासँग यो काम सिकेको उनले बताए । मैले बनाएका सामान युरोप र अष्ट्रेलियासम्म पुगेका छन् , उनले भने । जर्मनी, इटाली, फ्रान्सजस्ता देशमा समेत हस्तकला प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरेको उनी गर्वका साथ सुनाउँछन् । अहिले उनलाई परिवारकै सदस्य र दुई कर्मचारीले सहयोग गर्छन् ।
हस्तकलाका यस्ता सामग्री बनाउन उनी ठेकेदारहरूसँग चाँप, सिसौ, सल्ला, चिलाउनेलगायत काठ खरिद गर्छन् । मुर्ति तथा अन्य विभिन्न हस्तकलाका सामान एक सय रूपैयाँदेखि चार लाखसम्म बिक्री हुने गर्छन् ।
हेराैं उनका केही मनमाेहक कला :
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६