भोजपुर : इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका शंकरप्रसाद कोइरालाले देखाएका छन् ।
सामुदायिक विद्यालयहरूको गुणस्तर नभएको भन्दै अभिभावकले पनि आफ्ना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइरालासहितको टिम भने भोजपुरका सरकारी विद्यालयको शैक्षिक सुधारमा जुटेको छ । विगतमा भोजपुर नगरपालिकाको पोखरे घर भएका पूर्वअर्थमन्त्री कोइराला जिल्लाको शैक्षिक विकासदेखि लिएर सबै क्षेत्रमा आफू लागिपर्ने बताउँछन् ।
अहिले पहुँचमा नभए पनि जिल्लाका लागि केही गर्नुपर्छ भन्ने भावना आफूमा रहेकाले आफ्नो टिम त्यसैमा सक्रिय रहेको उनको भनाइ छ । विद्यार्थी साथमा, कम्प्युटर हातहातमा भन्ने अभियान सुरु गरेको पूर्वअर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विभिन्न छ वटा सरकारी विद्यालय र एक पुस्तकालयलाई गरी ५४ थान कम्प्युटर सेट लगायतका आवश्यक सामग्रीहरू प्रदान गरिसकेको छ ।
विद्यार्थीलाई पुरस्कृत गर्दै पूर्वअर्थमन्त्री कोइरालासदरमुकाममा रहेको विद्योदय मावि र जिल्लाको दक्षिणमा रहेको सगरमाथा मावि घोरेटारमा पूर्वअर्थमन्त्री कोइरालाको टिमले कम्प्युटर सामग्री दिएर ई–लर्निङ सेन्टर समेत सञ्चालनमा आएको छ । टिमले सगरमाथा माविमा शुक्रबार मात्रै १५ थान कम्प्युटर लगायतका सामग्री दिएको थियो ।
आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत गर्ने उद्देश्यका साथमा अभियान सुरु गरिएका विद्यालयहरूमा कम्प्युटर सहयोग गरेको संस्था ईश्वर मन्दिर काठमाडौंका महासचिव संकेत कोइरालाले बताए ।
महासचिव कोइरालाका अनुसार संस्थाले यसअघि नै अरुण गाउँपालिकाको शारदा मावि प्याउलीलाई पाँच थान, भोजपुर सदरमुकामको विद्योदय माध्यमिक विद्यालयलाई २० थान, पोखरेको सरस्वती आधारभूत विद्यालयलाई पाँच थान कम्प्युटर वितरण गरिसकेको छ ।
यसैगरी पूर्वअर्थमन्त्री कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौंले सदरमुकामस्थित जनसेवा आधारभूत विद्यालयलाई चार थान, आर्दश शिशु आधारभूत विद्यालयलाई दुई थान र २००७ सालमा स्थापना भएको श्रीराम अमर शहीद पुस्तकालयलाई दुई थान कम्प्युटर समेत यसअघि नै प्रदान गरिसकेको छ ।
संस्थाका अध्यक्ष प्रमेश केसी आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताउँछन् । उनले भने, ‘अब विद्यालयहरूमा ई–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौं ।’
अहिलेको युग आईटीको युग भएकाले सबै विद्यार्थीहरूलाई कम्प्युटर शिक्षाबाट वञ्चित नबनाई सहजरूपमा विद्यालयमा नै कम्प्युटर शिक्षा प्रदान होस् भन्न कम्प्युटर प्रदान गरेको ईश्वर मन्दिर काठमाडौंका अध्यक्ष केसीको भनाइ छ ।
ईश्वर मन्दिर काठमाडौंको सहयोगमा जिल्लाको दक्षिण सगरमाथा मावि घोरेटारमा सञ्चालनमा आएको ई–लर्निङ सेन्टर ।
जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई पूर्वअर्थमन्त्री कोइरालाको टिमले विद्यालयलाई प्रविधिमैत्री बनाउन गरेको सहयोग महत्वपूर्ण भएकाले अव घरबाट किताबकापी लिएर विद्यालयमा पढ्न आउनेभन्दा पनि विद्यार्थीहरूले प्रविधिबाट नै अब सिक्नुपर्ने बताए ।
विद्योदय माविका शिक्षक खेमराज धमला पूर्वअर्थमन्त्रीको टिमले विद्यालयका लागि २० थान कम्प्युटर लगायतका सामग्री सहयोग गरेपछि विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि ई–लर्निङ सेन्टर समेत स्थापना भएको बताउँछन् । उनले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउने योजना अनुसार विद्यालय पनि अप्टिकल फाइबर जडान गरी प्रविधिमैत्री योजनामा लागेको छ ।’
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफ्ना आमाबाबुको नाममा नगर क्षेत्रका दुई विद्यालयमा अक्षय कोषसमेत स्थापना गरेका छन् ।
कोइरालाले भोजपुर नगरपालिका–७ मा रहेको विद्योदय मावि र ८ नम्बर वडामा रहेको सरस्वती आधारभूत विद्यालयमा बाबु वेदनिधि र आमा धनकुमारीको नाममा ‘वेदनिधि धनकुमारी कोइराला’ अक्षयकोष स्थापना गरेका हुन् । अक्षय कोषको ब्याजबाट विद्यालयमा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कृत गरिने कोइरालाले बताए ।
विद्योदय माध्यमिक विद्यालयका २०७४ सालको कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा प्रतिबिम्ब राई र छात्र सरोज राईलाई अर्थमन्त्री कोइरालाले जनही १० हजार, प्रमाण पत्र र स्वर्णपदकसहित पुरस्कृत गरे । त्यस्तै २०७४ सालको कक्षा ११ को परीक्षामा विज्ञान विषयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने छात्रा निमलम्बु शेर्पालाई पनि नगद २० हजार, प्रमाण पत्र र स्वर्णपदक सहित पुरस्कृत गरिएको छ ।
ईश्वर मन्दिर काठमाडौंको सहयोगमा जिल्लाको दक्षिण सगरमाथा मावि घोरेटारमा सञ्चालनमा आएको ई–लर्निङ सेन्टर ।
भोजपुर नगरपालिका वडा नम्बर ८ पोखरेमा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि २०७४ सालको वार्षिक परीक्षामा उतकृष्ट हुने आशीष भुजेल र सुजाता खड्का र यस वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याउने अशोक तामाङ र अनिषा भुजेललाई पनि अक्षय कोषबाट नगद जनही चार हजार १५ रूपैयाँ प्रदान गरेका थिए ।
कोइरालाको टिमले गरेको कामले आफूहरूलाई पनि हौसला मिलेको विद्यालयका शिक्षकहरू बताउँछन् । सदरमुकाममा रहेको जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक थिरबहादुर खत्री आफ्नो विद्यालयलाई पनि पूर्वअर्थमन्त्रीको टिमले सहयोग गरेको बताए ।
विद्यार्थीलाई पुरस्कृत गर्दै पूर्वअर्थमन्त्री कोइरालाउनले भने, ‘मेहनत गर्न सकियो भने सरकारी विद्यालयको पनि गुणस्तर बढाउन सकिन्छ, हरेश नखाई काम गर्नुपर्छ ।’ जनसेवामा हाल करिब चार सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६