दमौली: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए। शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए ती विद्यालयमा पढाइरहनुभएका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोज्नुभयो । जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।
उनका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । उनका अनुसार ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ, केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहनुभएको छ ।
वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उनले बताए । उनका अनुसार उक्त विद्यालयमा कार्यरत दुई शिक्षकमध्ये एक अस्थायी शिक्षक परीक्षामा फेल भएको र अर्को एक आगामी वैशाख २६ गतेबाट निवृत्त हुँदैछन् ।
आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् । गाउँपालिकाभित्रका एक शिक्षकको सरुवा भइसकेको छ भने एक सेवा निवृत्त हुने तयारीमा छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६