काठमाडौं : लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे भने न्युक्यासलका लागि क्रिस्टियन एट्सु र सालोमन रोन्डनले गोल गरे ।
लिभरपुलले खेलको १३ औं मिनेटमा नै भान डिजिकको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको २० औं मिनेटमा नै एट्सुले गोल गर्दै न्युक्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई फेरी अग्रता दिलाए भने ५४ औं मिनेटमा रोन्डनले गोल गर्दै पुनः बरारबीमा ल्याए । तर खेलको ८६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल विजयी भयो ।
यो जितसँगै लिभरपुल ३७ खेलबाट ९४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । न्युक्यासल समान खेलबाट ४२ अंकसहित १४ औं स्थानमा छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ९२ अंक छ । लिगको उपाधिका लागि लिभरपुल र सिटीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अब लिभरपुलले वल्भ्ससँग खेल्न बाँकी छ भने सिटीले लेस्टर र ब्राइटनसँग खेल्न बाँकी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६