काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले अन्तिम खेलमा जित निकालेको छ । गएराति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो ।
हैदराबादले दिएको १७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । बेंग्लोरको जितमा सिमरोन हेटमायरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे । हेटमायरले ७५ र सिंहले ६५ रनको योगदान दिएपछि बैंग्लोर विजयी भयो । हैदरावादका लागि खलिल अहमदले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाए । उनले ४३ बलमा पाँच चौथा र चार छक्का प्रहार गरेका थिए ।
हारपछि हैदरावादको १४ खेलबाट १२ अंक भएको छ भने बैंग्लोरको ११ अंक छ । बैंग्लोर यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । हैदरावादको पनि यो हारले अघिल्लो चरणको प्रवेशको सम्भावना कमजोर बनेको छ ।
अब हैदरावाद प्लेअफमा पुग्न कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पञ्जाब पराजित हुनुपर्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६