काठमाडौं : लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम सुरु भएको छ ।
तीन तल्ले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर संरक्षणका लागि पुरातत्व विभागले एक करोड रुपैयाँको लागतमा जीर्णोद्धार गर्न लागेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि सुरु भएको छ । यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट तीन करोड रुपैयाँ उठेको थियो । नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको छ । छाना फेर्न १७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छाना पुनःनिर्माण समितिका संयोजक कोमलबहादुर विष्टले बताए ।
मन्दिरको छाना फेर्न २४ लाख ५१ हजार एक् सय ११ सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिञ्चोकका उत्तमकुमार थापालाई शनिबार मन्दिरमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले सम्मान गरे । हालसम्म बीचको तलाको छाना फेर्ने बजेट प्राप्त भएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरपालिकाको नामसमेत मन्दिरकै नामबाट राखिएकाले जीर्णोद्धार एवं छाना फेर्ने कामलाई प्राथमिकतामा राखिएको बताए । काम सम्पन्न गर्न अझै स्रोत अपुग हुने भएकाले फेरि महायज्ञ आयोजना गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख चालिसेले बताए ।
मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर र ससुरालीतर्फका २१ पुस्ता तर्छन् भन्ने पौराणिक मान्यता छ । –रासस
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६