कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका नैनसिंह साउदको गोठमा आज अपराह्न आगलागी हुँदा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
गोठमा आगो सल्किँदा पानी तान्न प्रयोग हुने ५० हजारभन्दा बढी मूल्यको डिजेल पम्पसेट, ३० हजार पर्ने गोरु गाडा, काठलगायत गरी पाँच लाखको क्षति भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
साउदकै छिकेकीले गहुँको ठुटा बाल्नका लागि लगाएको आगो हावाको बेगसँगै गोठमा सल्किएको हो । गोठ पूरै जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।
‘आगलागी नियन्त्रण गर्न ढिलो भएको भए पूरै बस्ती जलेर स्वाहा हुन्थ्यो’, प्रहरी निरीक्षक अवस्थीले भने, ‘सबैको सहयोगमा ठूलो क्षति हुनबाट जोगाइएको छ ।’ –रासस
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६