सुर्खेत : त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।
फाइनल खेलमा न्यु होराइजन बुटवललाई ५९ रनले हराउँदै आर्मीले उपाधिसँगै पाँच लाख नगद पुरस्कार हात पार्यो । वैशाख १२ गते वीरेन्द्रनगरमा सुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज सम्पन्न भएको हो ।
उपविजेता बनेको न्यु होराइजन बुटवलले भने दुई लाखमा चित्त बुझाएको छ । १ सय ४७ रनको लक्ष्य पाएको न्यु होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो ।
टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका जितेन्द्र मुखियाले ३ ओभर ३ बलमा ८ रन र सहाब आलमले ३ ओभरमा १३ रन दिएर समान ३÷३ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १ सय ४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा ३ छक्कासहित अविजित २१ रनको आक्रमक पारी खेले ।
बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५० हजार पुरस्कार प्राप्त गरे । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार पुरस्कार हात पारेका थिए ।
खेलाडीहरूलाई एक समारोहकाबीच नेपाल एथ्लेक्टिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पुरस्कार प्रदान गरे ।
आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे । ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६