काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजा महाराजाजस्तो बनाउन खोजेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे धारणा बनाउन शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि खाँणले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘दर्जनौं ठाउँमा मेरो सरकार मेरो सरकार भन्नुभाछ । त्यसकारण प्रधानमन्त्री ओली जीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपतिजस्तो या राजा महाराजाजस्तो पोजिसनमा राख्न खोजिरहनुभएको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडी बढाउने ढँगले ल्याइएको छ ,’ प्रमुख सचेतक खाँणले भने, ‘यसलाई संशोधन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।’
त्यस्तै कांग्रेसले नीति तथा कार्यक्रममा जनताको जीवनलाई सहज बनाउने कुनै कार्यक्रम नल्याएको पनि निष्कर्ष निकालेको छ । केन्द्र ,प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउने भन्दा पनि सरकारको नीति तथा कार्यक्रम शक्ति केन्द्रीकरण गर्ने खालको भएको कांग्रेसको आरोप छ । गत वर्ष आएका कार्यक्रमलाई यस वर्ष पनि दोहोर्याइएको, नीति तथा कार्यक्रम १ वर्षको भएपनि ४,५ वर्षका योजना ल्याइएको भनदै कांग्रेस नेता खाँणले सरकारले सपना बाँड्न सकेपनि नेपाली जनताको जीवनलाई परिवर्तन गर्न नसक्ने दाबी गरे । ‘नीति तथा कार्यक्रमको आधारशिला नै कमजोर छ । यसको प्रस्तुतिकरण पुराणजस्तो छ ,’ उनले भने ।
‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’ राख्न संशोधन प्रस्ताव
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको मेरो सरकार भन्ने शब्दको सट्टा नेपाल सरकार राख्न संशोधन प्रस्ताव दर्ता गराएको छ । ‘बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा सरकारलाई ‘मेरो सरकार’ भनि लेखिएको सट्टा ‘नेपाल सरकार’ भनि संशोधन गर्नुपर्ने’ कांग्रेसको माग छ ।
हेर्नुस् भिडियाे :
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६