भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिरमा बहुधार्मिक तथा बहुसांस्कृतिक महायज्ञ शनिवार सुरु भएको छ ।
हिन्दू जागरण नेपाल जिल्ला कार्य समिति भोजपुरको आयोजनामा सुरु भएको महायज्ञ राष्ट्र शान्ति र जनजनमा भाइचारामा सम्बन्ध कायम राख्न आयोजना गरिएको समितिका अध्यक्ष बोधराज अधिकारीले बताए । सिद्धकाली मन्दिरमा आगामी २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा श्रीहरि लक्ष्मण गुरुबाट ११ महारुद्री सञ्चालन हुने आयोजकले जनाएको छ ।
सवै ॐकार परिवारलाई एकसूत्रमा बाँध्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको कार्यक्रममा हिन्दू, बौद्ध, किराँत, जैन, शिख धर्मका गुरुहरूले प्रवचन दिने आयोजकले जनाएको छ । अहिले धर्मको नाममा किनबेच सुरु भएकाले त्यसबाट बचाउनका लागि सवै धर्ममा आस्था राख्ने गुरुहरूलाई एकै ठाउँमा उभ्याएर सन्देश दिइने श्रीहरि लक्ष्मण गुरुले बताए । साथै सो अवसरमा ११ लाख दीपद्वारा सिद्धकाली माताको महाआरती समेत गरिने छ ।
महायज्ञ सुरु हुनुअघि भोजपुर सदरमुकाममा कलशयात्रा समेत निकालिएको थियो । महायज्ञ सञ्चालनका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजक हिन्दू जागरण नेपाल भोजपुरका अध्यक्ष अधिकारीले बताए । उनले यो महान पुण्य कार्य भएकाले सहभागी हुन सवैलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६