भोजपुर : प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला भोजपुर सुन्तला र कागती खेतीका लागि परिचित जिल्ला हो । यहाँका धैरै स्थानीय सुन्तला र कागती खेतीमा संलग्न छन् ।
काम गर्ने जोश जाँगर भएमा युवा नै हुनुपर्दैन भन्ने उदाहरण बनेका छन् भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्णका ७७ वर्षीय विष्णुप्रसाद अधिकारी । उनी अहिले पनि सुन्तला र कागती खेतीका लागि बिरुवा उत्पादनदेखि बिक्रीमा समेत प्रत्यक्ष संलग्न छन् ।
‘बसी खाने’ उमेरमा कृषि पेसामा निरन्तर लागिपरेका कृषक अधिकारी भन्छन्, ‘म ७७ वर्ष पुगेँ । तर अझै पनि कृषि पेसाबाट पछि हटेको छैन ।’
युवालाई समेत चुनौती दिँदै कृषक अधिकारी भन्छन्, ‘बाल्यकालमै खोपी खेलेर जितेको पैसाले सुन्तला रोप्ने गर्थें ।’
सदरमुकामबाट पश्चिम घर भएका अधिकारी वर्षौंदेखि भोजपुर नगरपालिका ८ पोखरेमा अर्काको जग्गा भाडामा लिएर कृषि पेसामा सक्रिय भएर लागेका छन् । विगतमा अकबरे खुर्सानीको समेत व्यवसाय गरेका अधिकारी ‘खुर्सानी बा’ को उपनामले समेत परिचित भएका थिए ।
छोरा नातिसँग बसेर आराम गर्ने समयमा पनि सक्रिय कृषक अधिकारीले सुन्तला र कागतीको बिरुवा उत्पादन गरेर बिक्री गर्दा लाखौँ रुपैयाँ आम्दानी गर्छन् । अधिकारीले ठट्यौली गर्दै भने, ‘काम गर्ने जोश जाँगर हुने भए युवा पनि हुनु पर्दैन, विदेश पनि जानु पर्दैन, हामी मेहनती कृषकबाट सिके हुन्छ ।’
बुढेसकालमा पनि कृषि पेसामा सक्रिय अधिकारीलाई कृषि विकास कार्यालयका साथै विभिन्न संघसंस्थाले पटकपटक सम्मानसमेत गरिसकेका छन् । कृषक अधिकारीसँग बिक्रीका लागि अहिले पनि ६०÷७० हजार बिरुवा तयार छन् ।
आफूसँग सुन्तलाका बिरुवा अहिले पनि बिक्रीका लागि तयार रहेको बताउँदै कृषक अधिकारीले अव करिब १० रोपनी जग्गामा सुन्तला र कागतीको खेती फेरि सुरु गर्न लागेको बताए । उनले भने, ‘जग्गा खोजिसकेको छु, अब फेरि त्यहाँ पनि सुरु गर्छु ।’
अधिकारी मात्र होइन, भोजपुरमा अर्का एक कृषक पनि सफल बनेका छन् । विगत पाँच वर्ष अगाडिदेखि सुन्तला व्यवसाय गर्दै आएका भोजपुर नगरपालिका–५ बोखिमका कृषक मणि राईले सुन्तलाको व्यापार गरेर जग्गा समेत खरिद गरिसकेका छन् । राईले भने, ‘नगदेबालीका रूपमा परिचित सुन्तला गाउँघरमा राम्रो फल्ने गर्छ । करिब ५० हजारदेखि डेढ लाख रुपैयाँ लगानी गरेपछि सुन्तलाको बगानै किन्न सकिन्छ ।’
यसअघि सडक राम्रो नहुँदा गाडी गाउँसम्म आउँदैन थियो । तर अहिले सडकको अवस्था पनि राम्रो भएको र गाउँगाउँसम्म पनि सडकको पहँुच पुगेकाले सुन्तला ढुवानी गर्न समेत सहज भएको राईको भनाइ छ । आफ्नै सुन्तला बगान भएका राईले मंसिरदेखि फागुनसम्म जिल्लाका विभिन्न ठाउँबाट सुन्तला खरिद गरेर बिक्री गर्ने गरेका छन् ।
स्थानीय तथा बाह्य व्यापारीहरू गाउँघरमै आएर सुन्तलाको बगानै किन्ने गरेको पाइन्छ । बारीको सुन्तला टिप्ने सिजनमा सुन्तला टिप्न, बोक्नका साथै ढुवानी गर्ने ठाउँसम्म लानका लागि गाउँलेले रोजगारी पनि पाएका हुन्छन् । उनीहरूलाई दैनिक पाँच सय रुपैयाँसम्म दिएर सुन्तला टिप्न र बोक्न लगाउने गरिन्छ ।
सडकको पहुँच नहुँदासम्म उत्पादित सुन्तला बिक्रीका लागि डोकोमा बोकेर सदरमुकाम र गाउँमा लाग्ने बजारहरूमा लगिन्थ्यो भने अहिले उत्पादित सुन्तला गाउँबाट नै खरिद गरेर तराई ढुवानी हुने गरेको छ ।
नगदेबालीको रूपमा सुन्तला बिक्री हुने गरेकाले गाउँका किसानहरू सुन्तला खेतीमा आकर्षित हुँदै गएको स्थानीय किसान सुदेश श्रेष्ठ बताउँछन् ।
जिल्लामा सुन्तला खेतीलाई व्यावसायिक बनाउन सरकारी तबरबाट पनि विशेष योजनाका साथ काम भइरहेको पाइन्छ । जसका लागि सुन्तला उत्पादन हुने ठाउँलाई पकेट क्षेत्र घोषणा गरी सुन्तलामा लाग्ने रोग, विरूवा वितरण, माटो परीक्षण लगायत कृषकहरूलाई प्रोत्साहनका कार्यक्रमहरू प्रदान गर्ने काम भएको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी युकमणि भट्टराईले बताए ।
कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी भट्टराईका अनुसार जिल्लाको अरूण गाउँपालिका–१ याङपाङ, षडानन्द नगरपालिकाको वडा नं २, १०, र ११ को कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिका वडा नम्बर ३ र ४ को दाँवा, टेम्केमयुङ गाउँपालिकाको वडा नम्बर २, ३, ७ र ८ को छिनामखु, अन्नपूर्ण, कोट, गोगने सुन्तला उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ ।
भोजपुरको सुन्तला धनकुटा, हिले, धरान लगायत पूर्वी क्षेत्रका बजारमा बिक्री तथा कोसेलीका रूपमा निकासी हुने गरेको छ । भोजपुर बजारका सञ्जीव कार्की भन्छन्, ‘सुन्तलाको सिजनमा पहिले त बजारमा नै सस्तोमा सुन्तला किन्न पाइन्थ्यो, तर सडक सञ्जालले गर्दा गाउँबाट नै गाडीले सुन्तला लगिहाल्छ ।’
गायिका कुन्ती मोक्तानले गाएको ‘सुनकै भाउ छ, सुन्तला भारीको’ भने जस्तो भोजपुरको सुन्तला व्यवसाय पनि त्यस्तै भएको छ ।
भोजपुरमा फलफूलमध्ये सुन्तलाको प्रमुख स्थान रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । भोजपुरमा कृषक समूहमा आबद्ध भएर पनि सुन्तला खेती गरिँदै आएको छ । सुन्तलाको प्रशोधन गरी भोजपुरमा जुस निकाल्ने उद्योगमा समेत केही लागिपरेका छन् ।
परम्परादेखि सुन्तला खेती गर्दै आएका भोजपुरका कृषकहरूले सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि थप बिरुवा लगाएर व्यावसायिक समेत बन्न थालेका छन् । हरेका क्षेत्रका कृषकले उत्पादन राम्रो भएमा बर्सेनि ८० हजारदेखि एक करोडभन्दा बढीसम्म आम्दानी गर्ने गरेका छन् ।
पहिलेपहिले बोटबाट टिपेर सुन्तला बिक्री गरिन्थ्यो भने अहिले भने सुन्तलाको सिजनमा बोट नै मूल्य तिरेर किन्ने गरिएको कृषकहरू बताउँछन् । भोजपुरमा करिब छ सय हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको छ । सुन्तला सरदर प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ । भोजपुरमा वार्षिक रुपमा १५ देखि २० करोडसम्म सुन्तलाको कारोबार हुने गरेको बताइएको छ ।
सुन्तला मौसमी फल भएकाले त्यति मेहनत नपर्ने भएकाले पनि कृषकहरूमा सुन्तला मोह बढेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६